मदन भण्डारी राजमार्ग !


चुरे र भित्री मधेसका उपत्यकालाई जोड्ने गरी निर्माण शुरु गरिएको मदन भण्डारी राजमार्गले पश्चिम सुर्खेतका बासिन्दाको सडक सपना पुरा गर्दैछ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाइने यो राजमार्गले पूर्वको झापादेखि पश्चिमको डडेलधुरासँग जोड्नेछ । जुन सुर्खेत र डोटीसँग सडक सम्बन्ध अब जीविन्त हुनेछ । पूर्वपश्चिम राजमार्ग जस्तै मदन भण्डारीले पश्चिम सुर्खेतलाई पूर्वतिर जोड्ने एकमात्रै सडक हुनेछ । केही वर्षअघिदेखि स्तरोन्नतिको काम हुँदै थियो, तर नेपालका विकास पूर्वाधारमा कतिसम्म ढिलाइ र लापरबाही हुन्छ भन्ने उदाहरणमध्येको एउटा यही खण्ड पनि हो । अहिले आएर भने यो खण्डको कामले तीव्रता लिएको छ । नागरिक समाजले पटकपटक उठाएको आवाज बल्ल सुनिँदै छ । सुर्खेत पश्चिमको बडड्डीचौर–विद्यापुर–विजौराहुँदै लगाम सडक वर्षौंदेखि कालोपत्रे नहुँदा नागरिकले सास्तीको यात्रा गर्नुपर्ने बाध्यता छ । सडकको असहजताले निकै सास्ती र पीडादायी यात्रा गर्नुपर्ने बाध्यताको अन्त्यका लागि मदन भण्डारी राजमार्गले राहत दिने अपेक्षा गरिएको थियो ।

२०५१ सालमै ट्¥याक खोलिएको सडक झण्डै २९ वर्षपछि राष्ट्रिय राजमार्गको मान्यता पाएको थियो । १८ फागनु २०७९ देखि विद्यापुर–गुटु–विजौरा–बल्दे सडक निर्माण थालिएको छ । हालसम्म डेढ किलोमिटर सडक कालोपत्रे भईसकेको छ । असारसम्म १७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । पश्चिम सुर्खेतको लाइफलाइन राजमार्ग मदन भण्डारीको दोस्रो प्याकेजमा २२ किलोमिटर सडक निर्माणकै चरणमा छ । गुटु–बल्दे खण्डको विजौरामा स्थानीय अवरोधका कारण केही ढिलाई भएपनि अन्य स्थानमा तीव्र गतिले सडक निर्माण कार्य जारी राखिएको छ । मदन भण्डारी राजमार्गका विभिन्न खण्डमा अहिले पनि गाडी चलिरहेका छन् । उक्त खण्डहरुलाई राजमार्गका रुपमा दुई लेनमा विस्तार गर्दै जोड्दै लैजानुपर्ने हुन्छ । दाङबाट सुर्खेतको बोटेचौरसम्म अहिले कालोपत्रे भइरहेको छ । बोटेचौरदेखि डडेलधुरा सम्मको सडकको काम अघि बढ्न केही चुनौतीपूर्ण देखिएपनि जनप्रतिनिधिको पहल सकारात्मकरुपले अघि बढेको देखिन्छ । केही खण्डमा नयाँ ट्रयाक नै खोल्नुपर्नेछ ।
केही खण्डमा भने सडक स्तरीकरण गर्दा नै हुन्छ । धुलियाबिट–भेडाबारी सडकखण्डमा स्तरोन्नतिको काम धमाधम भइरहेको छ । राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार सडक निर्माणको काम भइरहेको हो । सडक कालोपत्रेको काम धमाधम अघि बढाइएको छ । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बोटेचौरदेखि चिङ्गाडसम्मको करिब २५ किलोमिटर सडकखण्डको स्ट्रक्चरको काम ९० प्रतिशत सकिएको छ । राजमार्गमा कालोपत्रे भइरहेको सडक दुई लेनको बन्ने छ । अहिले औसत चार मिटर चौडाइ रहेको सडकलाई स्तरोन्नति गरेर नौ मिटर बनाउन लागिएको हो । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्गले सुर्खेतलाई सडक सञ्जालले जोडेर विकासका नयाँ आयाम स्थापित गर्नेछ । अब पूर्वी सुर्खेत र पश्चिम सुर्खेतमा सिधै सडक सञ्जालबाट जाडिने मात्र छैन् सिंगो सुर्खेतको भूगोल राष्ट्रिय राजमार्गमा जोडनेछ । राजमार्गले सिंगो सुर्खेतको समृद्धि र विकासको नयाँ ढोका खोल्ने अपेक्षा राखिएको छ । सहरीकरणको विकास, साना तथा मझौला उद्योग स्थापना, व्यवसायिक कृषि, आयआर्जनमार्फत सडकको फाइदा लिन सकिने देखिन्छ ।

