सल्यानबाट ल्याईएको काउली सुर्खेतमा नष्ट


सुर्खेत । कर्णालीकै ठूलो तरकारी बजार सुर्खेत स्थित बुलबुले कृषि थोक बजारमा भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ ।
सल्यानदेखि आज विहान सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले कृषि थोक बजारमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएको हो ।
केन्द्रिय कृषि प्रयोगशाला अन्तर्गत वीरेन्द्रनगर स्थित बुलबुले कृषि थोक बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा आठ सय ७० केजी काउली नष्ट गरिएको वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख तथा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालक समितिका अध्यक्ष नीकलकण्ठ खनालले जानकारी दिए ।

उनले प्रयोगशालाका रिपोर्ट अनुसार सल्यानबाट आएको काउलीको नमुना परीक्षण गर्दा विषादी रोकावट दरको ९९ प्रतिशत भेटिएको बताए । प्रयोगशालाले उक्त तरकारी उपभोग गर्दा स्वास्थ्यमा गम्भीर असर गर्ने विषादीको मात्रा पाइएको भन्दै तुुरुन्त नष्ट गर्न बुलबुले कृषि थोक बजारमा रहेको समितिलाई आग्रह गरिएको जनाइएको छ ।
चालू आर्थिक वर्ष २०८१/८२ को कार्तिक ०४ देखि बैशाख ८ गतेसम्म बुलबुले कृषि थोक बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा १ हजार २ सय २५ वटा नमुना परीक्षण गरिएकोमा १५ वटामा विषादी रोकावटको दर ४६ प्रतिशतभन्दा माथि पाइएको छ ।

यस्तै उक्त तरकारीको नमुना परीक्षण गरेको मध्य २९ प्रतिशतमा विषादीको रोकावट दर ३५ देखि ४५ प्रतिशत पाइएको छ । जुन केही पर्खेर वा पुनः परीक्षण गरेर मात्रै उपभोग गर्न सकिने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई सुर्खेतका प्राविधिक धनसिंह धामीले बताए ।

उनका अनुसार सो अवधिमा अन्य तरकारीमा विषादी रोकवाट दर ३५ प्रतिशतभन्दा कम रहेको पाइएको छ । उनले चितवन, कोहलपुर, जुम्ला, सुर्खेत र सल्यानबाट उत्पादन भई सुर्खेत भित्रिएका तरकारी तथा फलफूलमा विषादी मिसाईएको पाईएको जनाए ।
भारत भन्दा नेपालमै उत्पादन भएका तरकारी तथा फलफूलमा विषादीको मात्रा मिसाईएको पाईएको उनको भनाइ छ । हालसम्म विषादी मिलाईएको भेटिनेमा आलु, हिउदे सिमी, काँक्रा, फर्सी, हरियो धनिया, काउलीलगायतमा पाइएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले जनाएको छ ।
सुर्खेतमा कीटनाशकतर्फ अर्गानोफस्फेट र ढुसीनाशकतर्फ कार्वामेट समूहको मात्रै परीक्षण हुने प्रविधि भएकाले यी बाहेक विषादी प्रयोग भए वा नभएको यस रिपोर्टबाट थाहा नहुने प्रयोगशाला प्राविधिक धामीको भनाइ छ । बुलबुले कृषि थोक बजारमा दैनिक करिब ५० टन भन्दा बढी हरियो तरकारी भित्रिने गरेको छ ।


