

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका सबै पालिकामा खाद्य बिक्री डिपो स्थापना कार्यलाई तीव्रता दिएको छ । खाद्यले प्रदेशमा खाद्यान्नको सहज आपूर्ति तथा उपलब्धता सुनिश्चित गर्न सबै पालिकामा खरिद तथा विक्री कक्ष स्थापना कार्यलाई तीव्रता दिएको हो ।
हालसम्म कर्णालीका आठ जिल्लाका ३४ स्थानमा खाद्य खरिद तथा विक्री कक्ष स्थापना भईसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले बताएको छ । हाल स्थापना भएका सबै विक्री डिपोबाट स्थानीय स्तरमा उत्पादित कृषि उपजसमेत खरिद गरिने खाद्यका कर्णाली प्रादेशिक कार्यालय प्रमुख केशबराज बुढाले जनाए ।
उनले खाद्य डिपो स्थापनाका लागि लागि प्रदेशका ७९ मध्ये ४० पालिकासँग खाद्यान्न आपूर्ति व्यवस्थापनसम्बन्धी समझदारी (एमओयू) गरि सकिएको बताए । उनका अनुसार दैलेखका ठाँटिकाँध विक्री केन्द्र, चामुण्डा विक्री केन्द्र, नौमुले विक्री केन्द्र, आठबिस नगरपालिका, दुल्लु नगरपालिका, नौमुल गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, नारायाण नगरपालिका, महाबु गाउँपालिका र गुराँस गाउँपालका रहेका छन् ।
हुम्लाका देउली विक्री केन्द्र, ताजाकोट गाउँपालिका र नाम्खा गाउँपालिका, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका, डोल्पाबुद्ध गाउँपालिका र छार्का ताङ्सोङ, मुगुको सोरु गाउँपालिका र मुगु कार्मारोड गाउँपालिका, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका, रासकोट नगरपालिका र पचाल झरना गाउँपालिका, सल्यानको बागचौर गाउँपालिका, शारदा नगरपालिका, दार्मा गाउँपालिका र छत्रेश्वरी गाउँपालिका, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका,सानीभेरी गाउँपालिका, बाफिकोट नगरपालिका र त्रिबेणी गाउँपालिका एवंम् जाजरकोटको नलगाड नगरपालिका र शिवालय गाउँपालिकामा विक्री डिपो सञ्चालनमा आईसकेको उनले जनाए ।


‘सबै पालिकाका खाद्य विक्री डिपोबाट स्थानीय उत्पादनको संकलन, मौज्दात व्यवस्थापन, ढुवानी, बिक्री तथा बजारीकरणको कामलाई प्रभावकारी बनाउने अपेक्षा छ,’ बुढाले भने, ‘दाल, चामल, तेल, चिनी, नुन, पिठो लगायतका वस्तु अभाव हुने दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यान्न पु¥याउने र त्यहाँ उपलब्ध रैथाने बाली खरिद गरेर सहरी क्षेत्रमा बिक्री गरिने छ ।’ यस कार्यक्रमले रैथाने बालीको संकलन, बजारीकरण र बिक्रीको सुनिश्चितताका लागि सहकार्य गरी कृषि उत्पादनको प्रवद्र्धन हुने उनले जनाए ।
खाद्यले कर्णालीमा उत्पादित रैथानी बालीमा ग्राहकको आकर्षण बढ्दै गएपछि प्रत्येक पालिकाबाट कृषि उपज खरिदको योजना बनाएको उनले जानकारी दिए । उनका अनुसार खाद्यले आर्थिक वर्ष २०७९÷८० देखि हुम्लाबाट चिनो, कागुनो, सिमी, फापर र उवा तथा जुम्लाबाट मार्सी चामल खरिद गर्दै आएको छ ।
खाद्यले स्थानीय उत्पादन खरिद गर्न थालेपछि किसानलाई पनि फाइदा पुगेको उनको भनाइ छ । यता कर्णाली प्रदेश सरकारले पनि खाद्यसँग मिलेर रैथाने उत्पादन बिक्रीवितरण गर्दर्छै । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष खाद्यसँग सम्झौता गरी आफ्नै मिल स्थापना गर्न लागेको मन्त्रालयका सचिव परशुराम रावतले जनाए । सरकारको गुणस्तर मापदण्डअनुसार खाद्यान्नलाई प्याकेजिङ र लेभलिङ गरी प्रदेशको ‘मूल्यवान्’ लोगो लगाएर खाद्यलाई वितरणको जिम्मा दिइने उनको भनाइ छ ।










