कर्णाली सरकारको नीति तथा कार्यक्रम : कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आज बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख नजिर मियाँलेले सरकारको तर्फबाट सरकारको आव २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
प्रदेश प्रमुख मियाँले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले आगामी नीति, कार्यक्रम तथा बजेट समृद्ध कर्णालीः सुखारी कर्णालीवासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा, सम्मानजनक रोजगारी, उच्च आर्थिक वृद्धिमा केन्द्रित गराउने जनाए ।
उनले प्रदेशको आर्थिक, सामाजिक अवस्था र भौगोलिक स्थितिलाई दृष्टिगत गर्दै विकास प्रक्रियामा संघ, प्रदेश, स्थानीय तह, निजी, गैरसरकारी, सामुदायिक क्षेत्र, विकास साझेदारहरुबीच सहकार्यमूलक विकास ढाँचा अवलम्बन गर्ने नीति लिइने जानकारी दिए ।
प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्नति गर्न सकिने वा नसकिने भन्ने विषयमा अध्ययन गर्न बनेको समितिले दिएको सुझावका आधारमा आगामी वर्षबाट अस्पताललाई प्रतिष्ठानका रुपमा स्तरोन्नतिको कार्य शुभारम्भ हुने प्रदेश प्रमुख मियाँले बताए ।

यस्तै, सुर्खेत मेडिकल कलेज स्थापनाका लागि संघीय सरकारसँग समन्वयसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यलाई निरन्तरता दिइने प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले आगामी वर्षबाट कर्णालीमा उत्पादन हुने स्याउको विकासका लागि छुट्टै स्याउ विकास बोर्ड स्थापना गरिने उनले जानकारी दिए ।
उक्त अधिकारसम्पन्न बोर्डले स्याउ खेतीको सम्भावना अध्ययनदेखि भण्डारण र बजारीकरणमा काम गर्ने छ । आगामी वर्षबाट कर्णालीको बुटी, जडीबुटी भन्ने मूल ध्येयका साथ कर्णालीका जडीबुटी पाइने लेक तथा पाटन संरक्षण गर्ने नीति लिइनेछ । प्रदेश सरकारले कृषि रणनीतिक आयोजना कार्यान्वयन गरी कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, यन्त्रीकरण र विविधीकरण गरी कृषि उत्पादनमा आत्मनिर्भर र निर्यातमा प्रोत्साहन गर्ने नीति लिने उनले जनाए ।
यस्तै, कर्णालीका ठूला परियोजना भेरी कोरिडोर, कर्णाली कोरिडोर र सुर्खेत विमानस्थल विस्तारमा संघीय सरकारलाई गरिँदै आएको अनुरोधले सार्थकता पाउँदै बजेटमा वृद्धि भएको मियाँले बताए । कर्णालीमा कार्यान्वयन भइरहेको भेरी–बबई डाइभर्सन परियोजनाबाट प्राप्त रोयल्टीको पहिलो हक कर्णालीले लिने गरी नीति तय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
हुम्लाको सदरमुकाम सिमकोटलाई मानसरोवर तथा कैलाश प्रवेशद्वारको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न खार्पु–सिमकोट नमुना एकीकृत पर्यटन पूर्वाधार विकास र शे–फोक्सुण्डो ताल किनारमा रहेको प्राचीन रिङ्बो बस्तीलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीको रुपमा रुपान्तरण गर्ने कार्य अगाडि बढाइने बताईएको छ ।
सडक, सडक पुल र झोलुङ्गे पुल लगायतका पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको भन्दै झोलुङ्गे पुल निर्माण गरी यसै आर्थिक वर्षभित्र प्रदेशबाट पूर्णरुपमा तुइन विस्थापन गरिने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।
’मेक इन कर्णाली’ लाई प्रवद्र्धन गर्न आवश्यक पूर्वाधार तथा सीप विकास कार्यक्रममा जोड दिइने कर्णाली सरकारले जनाएको छ । उज्यालो कर्णाली निर्माणका लागि प्रदेश सरकारले एक सय छ मेगावाटको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनामा शेयर लगानी गर्न प्रतिबद्धता जनाई पचास प्रतिशत रकम लगानी गरिएको जनाएको छ ।