‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य’ सम्बन्धि तीन दिने तालिम सम्पन्न

सुर्खेत । ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य’ सम्बन्धि सचेतना फैलाउन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा तीन दिने ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य’ सम्बन्धि तालिमका सहभागिहरुले आज समापन कार्यक्रममा  मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने महत्वपूर्ण विषयमा सरकारसँगै विभिन्न संघसंस्थाहरुले व्यापक  जनचेतना फैलाउन आवश्यक रहेको औल्याएका हुन् ।

विभिन्न व्यवसायिक प्रतिष्ठान, उद्योग तथा निर्माण क्षेत्रका लागि ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य’ सम्बन्धि तालिमले कामदारको कार्यस्थल सुरक्षासँगै स्वास्थ्यका बारेमा जानकारी लिन र दिन महत्वपूर्ण हुने सुर्खेत उद्योग वाणिज्य महासंघका उपमहासचिव पूर्णप्रसाद अधिकारीले बताए ।

उनले कार्यस्थल सुरक्षा तथा स्वास्थ्यका बारेमा श्रम ऐनले सम्बोधन गरे पनि पर्याप्त जानकारी अभावमा रोजगारदाताले लागू नगर्दा कहिले काहीं ठूलो जोखिम उठाउनु पर्ने गरेको जनाए । कार्यस्थल सुरक्षा मापदण्ड नअपनाउँदा आगलागीदेखि विभिन्न समस्याहरुको साम्ना गर्नु परिरहेको उनको भनाइ छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश र हेल्भिटासको सहयोगमा आयोजित ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य’ सम्बन्धि तालिमलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य विज्ञ दिनेशप्रसाद साहले तीन दिनसम्म प्रशिक्षण दिएका थिए ।

उनले सरकार, रोजगारदाता र श्रमिक मिलेर मात्र मर्यादित, व्यवस्थित, व्यवसायिक, सुरक्षित एवम् स्वस्थ्य कार्यस्थल निर्माण गर्न सकिने बताए । कार्यस्थलमा घट्न सक्ने सम्भावित जोखिमलाई कम गर्न रोजगारदातासँगै स्वयं कामदार पनि सचेत हुनुपर्ने उनको भनाइ थियो ।

उनका अनुसार काम गर्ने स्थल सुरक्षित भए मात्र उत्पादन वृद्धि गर्न सकिन्छ । उनले सुरक्षित र स्वस्थ्य भएर काम गर्ने वातावरण निर्माण गर्न सकिए मात्र मानवीय तथा भौतिक क्षति कम हुने जनाए ।

Translate »