२०८३ कात्तिक २३ , आइतबार
Sky News Nepal
November 9, 2026

सुर्खेतमा प्रदेशस्तरीय बहु–प्रकोपमा आधारित कृत्रिम घटना अभ्यास प्रदर्शनी



सुर्खेत । जलवायुजन्य विपद् तथा मनसुनको पूर्वतयारी तथा प्रतिकार्यका लागि कर्णाली प्रदेशस्तरीय बहु–प्रकोपमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ ।

सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशको आयोजना एवम् नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश, सहयोगी संघसंस्था, विभिन्न सरकारी कार्यालय र सुरक्षा निकायको सहकार्य तथा समन्वयमा कृत्रिम घटना अभ्यास गरिएको हो ।

कृत्रिम घटना अभ्यास प्रदर्शनीमा सुरक्षाकर्मीको उद्दार टोलीले भूकम्प गएको समयमा जनधनको क्षति हुन नदिन कुन प्रकारले काम गर्छ भन्ने बारेमा आफ्नो प्रदर्शनी गर्दै कार्यक्रममा सहभागी भएकालाई घटना भइसकेपछि के गर्ने बारेमा प्रदर्शनी मार्फत जानकारी गराएका थिए ।

प्रदर्शनीको क्रममा सुरक्षाकर्मीको उद्दारटोलीले कृत्रिम घर निर्माण गरी घरभित्र फँसेका मानवलाई उद्दार गरी एम्बुलेन्समार्फत अस्पतालसम्म कसरी लग्ने विषयमा अभ्यास गरी जानकारी गराएका थिए । बदलिदों मौसमका कारण फैलिने आगोबाट झन ठूलो नोक्सानी हुन सक्ने जोखिम रहेकाले विपद् पूर्व तयारी अनुरुप सरोकारवाला निकायसित समन्वय गरेर वीरेन्द्रनगरको खुला मैदानमा कृतिम अभ्यास गरिएको हो ।

उद्दार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनःर्ताजगीका लागि खोज तथा उद्दार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ कृत्रिम घटना अभ्यास गरिएको नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशका सभापति लिलाराम सुवेदीले जानकारी दिए । उनले स्थानीय समुदायको क्षमता अभिवृद्धिसँगै खोज तथा उद्दार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ भूकम्प, बाढी तथा पहिरो र आगजनीमा आधारित कृत्रिम घटना अभ्यास कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्वास्थ्यकर्मी, तालिम प्राप्त रेडक्रसका स्वम्सेवकलगायतको सहयोगमा भूकम्प, आगजनी र बाढीपहिरोको कृत्रिम घटना अभ्यास गरिएको हो । कृत्रिम घटना अभ्यासमा उद्दार गरी ल्याइएका घाइतेलाई नेपाल रेडक्रस सोसाइटीको टोलीले प्राथमिक उपचार गरी एम्बुलेन्समार्फत नजिकको अस्पतालमा पठाएकोे थियो ।

अभ्यास कार्यमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कुनैपनि प्रकोप जुनसुकैबेला जान सक्ने भएकाले हामी सबै त्यसको प्रतिकार र आफनो सुरक्षाका लागि तयार भएर बस्नु पर्ने बताए । उनले बाढी पहिरो, आगजनी, भूकम्पजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा कर्णाली प्रदेश रहेको बताउँदै तीनै तहका सरकारले यसका लागि पूर्व तयारी गर्नुपर्ने औल्याए ।

‘यस्ताखाले अभ्यासले भूकम्प, आगजनी र बाढी पहिरोसँगै जलवायुजन्य विपद्का बखत जनशक्ति तथा आवश्यक खोज एवम् उद्दार सामग्रीको पूर्वतयारी गर्न सहयोग पुग्नेछ,’ उनले भने, ‘विपद् प्रतिकार्यका लागि यस्तो अभ्यास निकै प्रभावकारी हुने बताउँदै विपद्मा काम गर्ने सबै सरोकारवालासँगको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकार तयार रहेको छ ।’

यस्ता अभ्यासबाट दक्ष जनशक्तिको सीप प्रदर्शन र उपलब्ध उद्दार सामग्री चुस्तदुरुत रहने कुरा उल्लेख गर्दै स्थानीय तहहरुले पालिकास्तरमा पनि कृत्रिम घटना अभ्यासलाई निरन्तर दिनुपर्ने उनको भनाइ थियो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले विपद्बाट क्षति पुग्ने र विपद्को सामना गर्ने पहिलो वर्ग भनेकै स्थानीय समुदाय भएको हुनाले विपद् जोखिम न्यूनीकरणमा जागरुक बनाउन, विपद्सँग सम्बन्धित योजना तथा कार्यक्रम तर्जु गरी प्रतिकार्यलाई प्रभावकारी तवरले वडास्तरमा परिचालित गरिएको जानकारी दिईन् ।

उनले कृत्रिम पूर्व तयारी अभ्यासले विपद्का बेला खोज तथा उद्दार गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने तथा भविष्यमा हुन सक्ने मानवीय, आर्थिक एवम् भौतिक क्षतिलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

अघिल्ला वर्षहरुको तुलनामा यसवर्ष बढी वर्षा हुने अनुमान मौसम विभागले गरेको हुँदा बाढीपहिरो र डुबान पनि बढी हुने सम्भावना रहेकाले अहिले बाटै सोको क्षति कम गर्नका लागि प्रदेश विपद् व्यवस्थापन समितिले पूर्व तयारीहरु गर्दै आएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पुष्पराज शाहीले बताए ।

उनले वर्षा नजिकिँदै गएकाले प्रदेशमा भूकम्प, आगजनी, बाढी र डुबानजस्तो विपद्बाट हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्न कृत्रिम घटना अभ्यास गरेर सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा राखिएको बताए ।

कृत्रिम घटना अभ्यासले उद्दारकर्मीहरुको क्षमता वृद्धि हुने र भएका कमीकमजोरीलाई सुधार गर्न मिलने हुँदा यो अति नै राम्रो कार्य भएको उनको भनाइ थियो ।

 

प्रकाशित मिति : २०८२ असार ३ गते मंगलबार
Translate »