सल्यानको त्रिवेणी गाउँपालिकाबाट एक वर्षमा तीन करोड बढीको खसीबोका बिक्री

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले एक वर्षमा तीन करोड बढीको खसी बोका बिक्री गरेको छ । त्रिवेणीका कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम प्रभावकारी बन्दै जाँदा कृषकमा बाख्रा पालनमा आकर्षण बढेको हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असार ६ गतेसम्म ३ करोड २६ लाख ४३ हजार ६ सय ३ रुपैयाँ बराबरको खसी बोका निर्यात भएको छ । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा १ करोड बढीको खसीबोका निर्यात भएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताए । उनका अनुसार गत आर्थिक वर्षमा २ करोड २६ लाख बराबरको खसीबोका निर्यात भएको थियो ।
उनले गाउँपालिकामा सूचिकृत भएका चार सहकारी संस्थाबाट ४ सय ३४ कृषकका १ हजार ५ सय ८८ खसीबोका एक वर्षमा बिक्री भएको जानकारी दिए ।
उनका अनुसार नमुना सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३ सय ६१ खसी बोकाबाट ७० लाख ४२ हजार १ सय ८४ रुपैयाँ, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट ३ सय १८ खसी निर्यात गर्दा ७१ लाख ५२ हजार ४ सय ६४ रुपैयाँ, दुर्गा भवानी सामाजिक उद्यमी महिला सरकारी संस्था मार्फत ७ सय २२ खसी निर्यात गर्दा १ करोड ४६ लाख १६ हजार ७ सय ८५ रुपैयाँ र त्रिवेणी पशुपालन व्यवसाय सहकारी संस्था मार्फत १ सय ८७ खसी निर्यात हुँदा ३८ लाख ३२ हजार १ सय ७० रुपैयाँ किसानले आम्दानी गर्न सफल भएका छन् ।
जसबाट किसानले उत्पादनमा आधारित अनुदान कार्यक्रम मार्फत १० लाख ८० हजार ९ सय २० रुपैयाँ अनुदान पाएका छन् । गाउँपालिकाले सहकारीमार्फत वार्षिक जिउँदो १०० किलोभन्दा माथि खसी बोका बिक्री गर्ने कृषकलाई प्रतिकिलो २० रुपैयाँका दरले अनुदान दिँदै आइरहेको उनले बताए ।

उनले भने, ‘कृषकले सहकारी मार्फत खसी बिक्री गर्दछन् । उनीहरूले वर्षमा एक सय किलोभन्दा बढीका खसीबोका बिक्री गरेमा पालिकाले प्रतिकिलो २० रुपैयाँ अनुदान दिन्छ ।’ गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले उत्पादनमा वृद्धि गर्न कृषकको उत्पादनकै आधारमा अनुदान दिने कार्य गरिएको बताए ।
‘पशुपालनको क्षेत्रमा यो नौलो कार्य हो, जसले उत्पादन गरेर सहकारीमार्फत खसीबोका बिक्री गर्छ उसले अनुदान पाउने हो,’ उनले भने, ‘पशुपालनमा कृषकलाई आकर्षित गर्न र नश्ल सुधार गर्न उन्नत जातका बाख्रा तथा बोका गाउँपालिकाले वितरण गर्दै आईरहेको छ ।’
उनले पशुपालन व्यवसाय गर्ने कृषकलाई आवश्यक तालिम तथा प्राविधिक सहयोग गाउँपालिकाले निःशुल्क उपलब्ध गराउँदै आईरहेको जनाए । उनका अनुसार आहारा वृद्धिका लागि घाँस खेती बिस्तार, पशु उपचार तथा परामर्श लगायतका सेवा समेत गाउँपालिकाले दिँदै आएकोछ ।
गाउँपालिकाको वडा नम्बर २, ४ र ५ लाई बाख्रा पकेट क्षेत्र तथा वडा नम्बर १, ३ र ६ लाई भैँसी पकेट क्षेत्रका रुपमा विकास गरिएको अध्यक्ष रावतले जानकारी दिए । त्रिवेणीमा व्यावसायिक बाख्रापालनमा संलग्न हुने कृषकलाई आकर्षित गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएका छन् ।
त्रिवेणीमा उत्पादित खसीबोका काठमाडौं, पोखरा, दाङ लगायतका प्रमुख शहरमा बढी माग हुन्छ । जङ्गलमा घाँस सँगसँगै जडीबुटी पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीले सल्यानको खसी बोकामा अन्य जिल्लाको तुलनामा बढी मूल्यमा बिक्री हुने गर्दछ ।