छोरीबुहारी छात्रबृत्ति कार्यक्रम !


नेपाली समाज छोरी बुहारीको महत्व सधै रही आएको छ । त्यसमा पनि अझ हिन्दु धर्मालम्बिमा झैन महत्वका साथ छोरीको पुजन गर्ने चलन छ । अर्कोतर्फ महिलालाई अर्काको घर जाने छोरी बुहारीलाई पढाउनु हुँदैन भन्ने पक्ष पनि रहेको पाईन्छ । छोरी भएर जन्मिनु आफैमा चुनौती त छँदैछ, त्यसैमा प्राविधिक शिक्षा पढ्छु भन्ने सपना देख्नु अझ ठूलो साहसको कुरा हो । फेरीपनि मानव चेतनाको विकासक्रमसँगै अब छोरी बुहारीलाई समेत पढाउनु पर्छ भन्ने मान्यता बोक्नेहरुको संख्या बढेको देख्न सकिन्छ । यद्यपि ! कर्णाली जस्तो पूर्वाधार विकासले पछाडी पाएिको कर्णालीमा शिक्षाको महत्वलाई छोरी बुहारीसम्म पु¥याउन अलि ढिला हुँदा महिला साक्षरतादर कम हुनु स्वाभाविकै थियो । ढिलैभएपनि कर्णाली प्रदेश सरकारले ल्याएको छोरी बुहारी छात्रवृत्ति कार्यक्रमले आर्थिक अवस्था कमजोर भएकालाई उच्च शिक्षा हासिल गर्ने अवसर जुराई दिएको छ । प्रदेश सरकारको कार्यविधिअनुसार छात्रवृत्ति रकम रु २४ हजारदेखि एक लाखसम्म दिने गरिएको पाईन्छ । आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको प्राविधिक विषयको उच्च शिक्षामा महिलाको पहुँच बढाउने उद्देश्यले सञ्चालन गरिएको ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम सुरुमा सामान्य जस्तै लागेपनि सात वर्षपछि प्रभावकारी बन्दै गएको देखिन्छ ।
यो एउटा स्वागत योग्य कमद हो । छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमले अध्ययन गर्न सहजता मात्र होइन, केही गरेर देखाउन चाहनेलाई दीर्घकालीन लाभ समेत पु¥याएको छ । आर्थिक अवस्थाले अध्ययन पुरा गर्न नपाएका छोरी–बुहारीलाई यो कार्यक्रम निकै प्रभावकारी देखिन्छ । छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमबाट प्रदेशका १० जिल्लाका हालसम्म पाँच सय २१ महिला लाभान्वित भईसकेका छन् । जुन सकारात्मक पक्ष हो । नर्सिङ, स्वास्थ्य सहायक, फार्मेसी, ल्याब टेक्निसियन र रेडियोलोजिस्ट, बाली विज्ञान, बागबानी, पशु विज्ञान, वन विज्ञान, इन्जिनीयरिङ र कम्प्युटर विज्ञानलगायतका प्राविधिक विषय अध्ययन गर्ने छोरी तथा बुहारीले छात्रवृत्ति पाउँदै आएका छन् । अब छोरी–बुहारी छात्रवृत्तिको प्रभावकारिता बारेमा थप अध्ययन हुन जरुरी देखिन्छ । छोरी–बुहारी छात्रवृत्तिअन्तर्गत प्राविधिक उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति र कर्णाली प्रदेश घोषणाका लागि आन्दोलनमा शहीद भएका सन्ततिका लागि छात्रवृत्तिका कार्यक्रम रहेका छन् ।

छोरी–बुहारी छात्रबृत्ति कार्यक्रमले महिलालाई प्राविधिक शिक्षामा अब्बल बनाउँदै प्रदेशमा रहेको शिक्षामाथिको विभेद, महिला पुरुषबीचमा रहेको विभेद कम गर्ने मात्रै नभएर प्रदेशमा रहँदै आएको प्राविधिक शिक्षातर्फको जनशक्ति बढाउने हाम्रो उद्देश्य हो । कर्णालीमा.अधिकांस गरिवीको रेखामुनि रहेको वर्ग उपेक्षित छ । त्यसैमा मध्यम वर्गीय परिवारलाई खानलाउन पुगेपनि प्राविधिक शिक्षा पढाउन महँगो हुन्छ । छात्रवृत्तिले विपन्न र केही चुनौति उठाउने छोरी बुहारीका लागि यो सुनौलो अवसर हो । सरकारले छोरीबुहारीलाई पढाउने नीति लिएको महसुस हुँदा समाजले पनि सकारात्मक दृष्टिकोण राख्न थालेको छ । छोरीबुहारीलाई शिक्षा हासिल गर्नका लागि सरकारले ढोका खोलि दिएपछि सुन्दर भविष्य निर्माण व्यक्तिको मात्र नभई प्रदेशको समेत देखिन्छ । कर्णाली प्रदेश सरकारले केही गरेको छैन भन्नेहरुका लागि समेत यो छोरीबुहारी कार्यक्रम शानदार उदाहरण हो । किनभने ! शिक्षामा गरिएको लगानीले तत्काल चामल–दाल विक्री गरे जस्तो नपाएपनि दिर्घकालिन मिठो र सुखद प्रतिफल पाईन्छ ।

