‘कर्णालीमा महिला उद्यमशीलताको आवाज बुलन्द बन्दै’

सुर्खेत । पछिल्लो समय कर्णालीमा आर्थिक सशक्तीकरणका लागि लैङ्गिक समानता तथा महिला उद्यमशीलताको आवाज बुलन्द बन्दै गईरहेको छ ।
विहीबार सुर्खेतको वीरेन्द्रनगरमा महिला सशक्तिकरण तथा आत्मनिर्भरता अभिवृद्धिका लागि ‘महिला उद्यमशीलता सहायता कक्ष’ को उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले उद्यमशीलताको विकासका माध्यमबाट स्वरोजगारसँगै रोजगारी वृद्धि गराई महिलालाई आर्थिकरुपमा सवल र सक्षम बनाउन जोड दिए ।
उनले महिला उद्यमीलाई सूचनाको पहुँच, सिप तथा सिर्जनाको उपयोग, बजार प्रवर्धन, वित्तीय पहुँच, प्रविधिमा सहयोग, टेवा पुँजीलगायतका प्राविधिक पक्षमा सहजीकरण गर्न स्थानीय सरकारहरुले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको औल्याए ।
‘आत्मनिर्भर अर्थतन्त्र स्थापनाका पालिकास्तरमै महिला उद्यमशीलता सहायता कक्ष स्थापना गरी महिलाको गुनासो सरकारहरुले सुन्न सक्नु पर्दछ,’ उनले भने, ‘बजेटमा महिला उद्यमशीलता सहजीकरणलाई प्राथमिकतामा राखिने गरेपनि व्यवहारमा त्यो कार्यान्वयन नहुँदा औद्योगिक क्षेत्रतर्फ महिलाको उपस्थिति बढ्न सकेको छैन् ।’
उनले अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान घटिरहेको बेला महिला उद्यमीको योगदानले आयआर्जन तथा रोजगारी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । हाल सञ्चालनमा रहेका महिलाद्वारा सञ्चालित उद्योगलाई सरकारी स्तरबाट दिन सकिने सेवा सुविधाका साथै कच्चा पदार्थ, निर्यात प्रवर्धन, बजारीकरणलगायत प्राथमिकता दिनेतर्फ नीतिगत निर्णय स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले महिला योगदान बिना कुनैपनि आर्थिक विकास सम्भव नरहेको बताए । ‘सुउवा संघले महिला उद्यमीलाई आवश्यक सहयोगसँगै सहजीकरण गर्दै जाने प्रतिवद्धता ब्यक्त गर्दछु,’ उनले भने, ‘महिला उद्यमीहरुको सशक्तीकरण तथा व्यवसायिक क्षमता अभिवृद्धि, बजार पहुँच, तालिमसँगै आवश्यक परामर्श प्रदान गर्न महिला उद्यमशीलता सहायता कक्ष प्रभावकारी हुनेछ ।’
महिलाहरुले उद्यमशीलता तर्फ देखाएको प्रयास अत्यन्तै सम्मानजनक रहेको बताउँदै उनले संघको पहलमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे । वीरेन्द्रनगर नगरपालिकाका रोजगार शाखा प्रमुख मोहन पौडेलले नीजि क्षेत्रले आफै ‘हेल्प डेस्क’ स्थापना गरेर सराहनीय कार्य गरेकोले यस्ता कार्यक्रमप्रति नगरपालिकाको संधै सकारात्मक सहयोग रहने प्रतिवद्धता जनाए ।
उनले महिला उद्यमशीलताको भावना जागृत गराउन र उनीहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउन सहायता कक्षले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । संघले स्थापना गरेको महिला उद्यमशिलता सहायता कक्षमार्पmत महिलालाई व्यवसायिक सल्लाह, तालिम, जानकारी तथा प्रोत्साहन प्रदान गरिने छ ।
यसैवीच दीगो जिविकोपार्जनका लागि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता विकास सम्बन्धी दुई दिने तालिम वीरेन्द्रनगरमा शुरु भएको छ । महिलाहरुलाई उद्यमशिलता विकास सम्बन्धी तालिममा उद्यमी कसरी बन्ने, उद्यमी बन्नको लागि स्रोतसाधन के के छन् र हामीले के व्यवसाय गर्न सक्छौ भन्ने बारेमा सहजीकरण गरिएको थियो ।
व्यवसायको लागि सम्भावित क्षेत्रहरुको पहिचान गरी समुदायमा कुन व्यवसाय उपयुक्त छन् भन्ने कुरामा समेत छलफल गरिएको थियो । सहयोग पाएमा महिलाले उद्यम गरेर व्यवसायिक बन्न सक्ने र व्यवसाय गर्न स्थानीय सरकारले सहयोग गर्ने सरकारी अधिकारीहरुले प्रतिबद्धता समेत जनाएका थिए ।
त्यसैवीच नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले सरकारी अधिकारीसँगै (ईडब्लुपीएन) का एजेन्सी तथा पार्टनरहरुसँग नीजि क्षेत्रले कर्णालीमा हालसम्म गरेका गतिविधिसँगै महिला सशक्तिकरणका लागि आईएलओ, युएनआईसीईएफ, युएनवुमन, युएनएफपीए र ईएडब्लुपीएन जस्ता पार्टनरहरुसँगको सहयोगमा गरिएका गतिविधिहरुका बारेमा जानकारी दिएको थियो ।