सुर्तीजन्य पदार्थमा कडाइ गरौं !

नेपाल सरकारले नै सुर्तीजन्य पदार्थको विक्री वितरणमा कडाई गर्नुपर्ने देखिन्छ । हरेक वर्ष बजेटमा सुर्ती नियन्त्रणका क्षेत्रमा नेपाल सरकारले नामै उच्चारण नगर्नुले नागरिकको स्वस्थ भएर बाँच्न पाउने नैसर्गिक अधिकारलाई खुलेआम लत्याएको पाईन्छ । सुर्तीजन्य उत्पादक कृषकहरुका लागि वैकल्पिक बाली उत्पादन र बजारीकरणका अवसरहरुबारेमा समेत सचेतना फैलाउनु पर्छ । साथै सुर्ती कृषकहरुका लागि अवसरहरु र उनीहरुलाई दिगो पौष्टिक बाली उब्जाउन प्रोत्साहित गर्नु पर्छ । यसले सुर्ती उत्पादनमा कमी आउँछ भन्ने बुझाई छ । विशेष गरी सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरुको सबैभन्दा बढी संख्या कम आयस्रोत भएका र पौष्टिक आहारको कमी भएका व्यक्तिहरु नै हुने गरेको पाईन्छ । विश्व स्वास्थ्य संगठनले तमाखु खेतीले विश्वव्यापीरुपमा खाद्य असुरक्षा बढाउन योगदान पु¥याएको उल्लेख गरेको छ । अहिले जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्ने तयारी थालेको छ । निषेधित क्षेत्रमा खुल्ला रूपमा सुर्तीजन्य पदार्थ बिक्री वितरण हुने गरेको जनगुनासो बढेपछि प्रशासनले अनुगमन गर्दै निषेधित क्षेत्रमा राखिएको सुर्तीजन्य पदार्थ जफतसहित आवश्यक परे मुद्दा समेत चलाउने योजना अघि सारेको हो ।

अस्पताल, विद्यालय लगायतका सार्वजनिक क्षेत्र नजिकमा राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि जिल्ला प्रशासनले अब कडाई शुरु गर्न लागेको छ । धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि जिल्ला स्तरीय समन्वय बैठकलाई विहीबार सम्बोधन गर्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जिल्ला जन स्वास्थ्य कार्यालय, सुर्खेत उद्योग वाणिज्य संघ र विद्यालयहरुलाई सुर्तीजन्य पदार्थ नियन्त्रणमा कडाईका साथ जुट्न आग्रह गरे । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको विक्री वितरण गर्नु हुँदैन भनेर व्यवसायीहरु सचेत भएपनि आर्थिक लाभका लागि नथाहापाए झै गर्ने गरेका छन् । अनुगमनमा भेटिएको सामग्री जफत गर्ने आइन्दा बिक्री वितरणको काम नगर्न सचेत गराउने, पुनः अनुगमनका क्रममा भेटिए प्रचलित ऐन अनुसार कारबाही गर्नुपर्ने देखिन्छ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा सार्वजनिक स्थलमा कसैले धूम्रपान गर्न नपाइने, १८ वर्षमुनिका व्यक्तिले बेचबिखन गर्न नपाउने, चुरोट बट्टामा मात्र बिक्री वितरण गर्नुपर्ने, सार्वजनिक स्थलभन्दा एकसय मिटर टाढा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थको सचेतनामूलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने व्यवस्था गरेको छ । तर सार्वजनिकस्थलमै राखेर सुर्तीजन्य पदार्थ विक्री हुने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले नियमनमा कडाइ गर्नु स्वागतयोग्य कदम हो ।

अस्पताल तथा विद्यालय क्षेत्र वरपरका पसलबाट बिक्री वितरणमा राखिएका सुर्तीजन्य पदार्थ जफत गरी आवश्यक कार्वाही गर्न अब ढिलाई गर्नु हुँदैन् । सार्वजनिक सूचनामार्फत सार्वजनिक स्थानहरू सरकारी कार्यालय, विद्यालय, अस्पताल, बाल गृह, वृद्धाश्रम लगायतका स्थानहरूको एक सय मिटरभित्र सुर्ती र मदिराजन्य पदार्थहरू सेवन र बिक्री वितरण नगर्न व्यवसायीहरुलाई आग्रह गरिनु पर्छ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको २०६८ को ऐनमा सार्वजनिकस्थलमा कसैले धूम्रपान गर्न नपाइने, चुरोट बट्टामा मात्र बिक्रीवितरण गर्नुपर्ने, एक–एक खिल्ली बिक्री गर्न नपाइने, सार्वजनिक स्थलभन्दा एक सय मिटर टाढा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थको सचेतनामूलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने, एक व्यक्तिले सेवन गरेको सुर्तीजन्य पदार्थले कसैलाई असर गर्न नहुनेलगायतका कुरा उल्लेख गरिएको छ । सोही ऐनको आधारमा सुर्खेत जिल्लामा रहेका विद्यालय क्षेत्र वरपरका पसलबाट बिक्री वितरणमा राखिएका सुर्तीजन्य पदार्थ जफत गर्न अब ढिलाई गरिनु हुँदैन् ।

Translate »