पेट्रोलियम पदार्थको सुरक्षित व्यवस्थापन सम्बन्धित प्रशिक्षण

सुर्खेत । पेट्रोलियम कारोबारमा जोखिम न्यूनीकरण गर्न नेपाल आयल निगम कर्णाली प्रदेशले आफ्ना विक्रेता डिलरलाई प्रशिक्षण तथा तालिम दिन शुरु गरेको छ ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा नेपाल आयल निगम कर्णाली प्रदेशभरका आयल विक्रेता डिलरलाई पेट्रोलियम पदार्थको प्रयोगबाट हुने जोखिम र सुरक्षा विषयमा दक्ष प्रशिक्षकबाट प्रशिक्षण तथा तालिम दिएको हो । तालिम उद्घाटन शत्रमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले पेट्रोलियम पदार्थको प्रयोगबाट हुने जोखिम र सुरक्षा विषयमा विक्रेताले उपभोक्तालाई सचेतना फैलाउन कमि नगर्न सुझाव दिए ।

उनले जोखिम कहिल्यैपनि पूर्व जानकारी दिएर नआउने भएकाले सधै सतर्क र सचेत रहन आग्रह गरे । प्रशिक्षण तथा तालिममा कर्णाली प्रदेशभरका पम्प सञ्चालकसँग पम्पको सुरक्षा एवं मापदण्डसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमसँगै विश्व प्रेरणा शिक्षक वीके रमन भट्टराईले उपभोक्ता व्यवहार, कार्यस्थल उत्प्रेरणा, उत्तरदायित्व र मनोवलका बारेमा विभिन्न एन्गलबाट प्रशिक्षण दिएका थिए ।

सो अवसरमा गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतका मिस्त्रि भगतराज रानाले स्टायान्डर्ड नाप तौल ऐनका वारेमा के गर्न हुने, के गर्न नहुने बारेमा विक्रेतासँगै उपभोक्ताले थाहा पाउनु पर्ने थुप्रै जानकारी दिए । उनले नापतौलमा ठगि तथा बेइमानी गर्ने व्यवसायीलाई कानूनले कुन हदसम्म सजाय र जरिवानाको व्यवस्था गरेको बारेमा बताए ।

नेपाल आयल निगमका प्रवक्ता तथा ईन्जिनियर मनोजकुमार ठाकुरले पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्दा आउन सक्ने आकस्मिक जोखिम र त्यसको समाधानमा गम्भीर हुनुपर्ने अवस्था आएको बताए । उनले पेट्रोलियम प्रज्वलनशील पदार्थ भएकाले यसको बिक्रीवितरणमा गम्भीर हुनुका साथै कुनैपनि दुर्घटना पूर्व नै सावधानी अपनाउनु बुद्धिमानी भएको जनाए ।

जोखिम न्यूनीकरणको लक्ष्यसहित सुरक्षा मापदण्डको विषयमा अभियान चलाएको नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयका प्रमुख दिपकप्रसाद घिमिरेले बताए ।

Translate »