२०८३ साउन २७ , बुधबार
Sky News Nepal
August 13, 2026

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै



बाँके । बर्दिया जिल्लामा डेङ्गु, कालाजार र स्क्रबटाइफसजस्ता सरुवा रोगहरूको सङ्क्रमण अघिल्लो वर्षको तुलनामा बढ्दै गएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ।

आर्थिक वर्ष २०८०र८१ मा जिल्लामा डेङ्गुका १४२ बिरामी भेटिएका थिए भने चालु वर्ष २०८१र८२ मा यो सङ्ख्या १५० पुगेको छ। यस्तै, गत वर्ष ४ जनामा कालाजार देखिएकोमा यस वर्ष ६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार भारतबाट फर्किने मजदुरहरूबाट संक्रमण फैलिने दर उच्च भएको छ। लामखुट्टे र भुसुनाबाट सर्ने यी रोगबाट जोगिन सतर्कता अपनाउन आग्रह गरिएको छ।

स्वास्थ्य कार्यालय बर्दियाका विष्णु वैश्यले भारतबाट फर्किने व्यक्तिहरूमार्फत संक्रमण फैलिएको पुष्टि भइरहेकाले सावधानी आवश्यक भएको बताए। बर्दिया अस्पतालका बालरोग विशेषज्ञ डा. विश्वनाथ शाहले विशेषगरी वर्षायाममा बालबालिका जोखिममा पर्ने भएकाले अभिभावकहरूलाई सचेत रहन अनुरोध गरेका छन् ।

खैरापुर स्वास्थ्य चौकीका प्रमुख जनकनाथ योगीले यो वर्ष बिरामीको सङ्ख्या अघिल्लो वर्षभन्दा बढेको जनाउँदै नागरिक र स्थानीय निकायहरूलाई सतर्क रहन अपिल गरेका छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार सरसफाइमा ध्यान दिनु, पानी जम्न नदिने, मच्छरदानी प्रयोग गर्ने र भुसुना नियन्त्रणका उपाय अवलम्बन गर्नु रोग नियन्त्रणका लागि आवश्यक छन्।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमबार
Translate »