२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 25, 2026

कर्णालीको बजेट खर्च सुधारोन्मुख



 सुर्खेत । कर्णाली प्रदेश सरकारको बजेट खर्च सुधारोन्मुख देखिएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ६५ प्रतिशत खर्च गरेको हो । प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट ३१ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा असार २५ गतेसम्ममा २० अर्ब ३५ करोड ९५ लाख रुपैयाँ खर्च गर्न सफल भएको हो । जुन अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ५ दशमलव ४६ प्रतिशतले बढी हो ।

उक्त आवमा कर्णालीले ३३ अर्ब ४१ करोडको बजेट ल्याएकोमा १९ अर्ब ८६ करोड ८२ लाख मात्र खर्च गरेको थियो । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार मन्त्रालयगत रुपमा सबैभन्दा बढी आर्थिक मामिला तथा योजना मन्त्रालयले पाएको कुल १७ करोड ५३ लाख ५५ हजार बजेट मध्ये १३ करोड ९७ लाख ९३ हजार खर्च गरेर प्रथम भएको छ ।

उसले ७९ दशमलव ७२ प्रति खर्च गरेको हो । त्यस्तै दोस्रोमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले पाएको कुल २ अर्ब ८६ करोड १४ लाख बजेट मध्ये २ अर्ब २८ करोड १४ लाख रुपैयाँ खर्च गरेर दोस्रो भएको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १ अर्ब ४१ करोड ७९ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ ।

यस वर्ष सबै भन्दा कमजोर भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको खर्च विवरण कमजोर देखिएको छ । मन्त्रालयले पाएको १० अर्ब ४३ करोड ५ लाख ८९ हजार मध्ये ५ अर्ब ९९ करोड ८५ लाख ८७ रुपैयाँ मात्र खर्च गर्न सकेको हो । मन्त्रालयले यस वर्ष ५७ दशमलव ५१ प्रतिशत मात्र खर्च गर्न सक्यो ।

यद्यपि ! समग्रमा प्रदेश लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरिएको विवरणअनुसार सरकारले गतवर्षको तुलनामा खर्चमा सुधार गरेको छ । यस वर्षको वित्तीय कार्यसम्पादनमा विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्च प्रशासनिक खर्चभन्दा बढी देखिएको छ ।

यसले पुँजीगत खर्च गर्ने सरकारको क्षमतामा पनि सुधार भएको देखिएको छ । सँगसँगै सरकारले चालु खर्च न्यूनीकरण गर्ने कार्यमा पनि आंशिक सफलता प्राप्त गरेको छ ।

 

प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार
Translate »