२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 25, 2026

जगदुल्ला हाइड्रोपावर : नक्कली आरोप लगाउने कम्पनी नै नक्कली



डोल्पा । जगदुल्ला हाइड्रोपावर आयोजना निर्माण कार्यको अन्यौलता अझै झटेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा निर्माण हुन लागेको एक सय ६ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण प्रक्रियामा कानूनी बाधा–अड्धनहरु पटक–पटक आउन थालेपछि अन्यौलता कायमै रहेको हो ।

पछिल्लो समय जगदुल्ला हाइड्रोपावरको ठेक्का हात पार्न चिनियाँ कम्पनी जियाङ्सी कन्सट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन (जेसीई) ले पेश गरेको कागजात नक्कली हो भनेर पत्र पठाउने अर्को कम्पनी नै नक्कली भएको जगदुल्ला कम्पनीले दाबी गरेको छ ।

गत अप्रिल २२ मा जगदुल्ला हाइड्रोपावर कम्पनीले परियोजनाको सिभिल र हाइड्रोमेकानिकल कामको लागि चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन (जेसीई) र सिनो हाइड्रो कर्पोरेशन लिमिटेडको प्राविधिक प्रस्तावको मूल्यांकनमा उत्तीर्ण भएको भन्दै सूचना निकालेको थियो ।

दुई चिनियाँ कम्पनीहरुबीच ठेक्का हात पार्ने प्रतिस्पर्धामा नक्कली कागजात पेश गरी ठेक्का हात पार्न लागेको विषय सतहमा आएको हो । जगदुल्लाले इन्जिनीयरिङ, खरीद र निर्माण (ईपीसी) मोडलमा १०६ मेगावाटको यो परियोजना निर्माण गर्न बोलपत्र आव्हान गरेको थियो ।

जेसीई र उसको ज्वाइन्ट भेन्चर पार्टनर एएनके कन्सट्रक्शन नेपाल जेभीले जलविद्युत् आयोजना निर्माण गरेको अनुभवको योग्यता प¥याउन नक्कली कागजतात पेश गरेको भन्दै गत जेठ दोस्रो साता एक चिनियाँ कम्पनीले जगदुल्लालाई पत्र पठाएको थियो ।

जेसीई/एएनकेले चीनकै अर्को कम्पनी हेचाउ साङचेङ इलेक्ट्रिक पावर कम्पनीसँग मिलेर चीनमा आफूले ९० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको कागजात पेश गरेको थियो । तर, जेसीई/एएनकेले अनुभव पु¥याउन पेश गरेको उक्त कागजात नक्कली भएको भन्दै आफूलाई हेचाउ साङचेङ कम्पनी दाबी गर्दै चीनबाट गत महीना जगदुल्ला हाइड्रोपावर कम्पनीका नाममा इमेलमार्फत एक पत्र आएको थियो । तर, इमेलमार्फत आएको उक्त पत्र र पत्र पठाउने कम्पनी नै नक्कली भएको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए ।

‘आफूलाई हेचाउ साङचेङ कम्पनी दाबी गर्दै चीनबाट इमेल पत्र पठाउने कम्पनी नै झूटो हो भन्ने हाम्रो बुझाइ छ । हेचाउ कम्पनीकै जस्तो नक्कली इमेलमार्फत पत्र आएको हो । त्यसरी आएको पत्रको कपीहरु सरकारका सम्बद्ध निकायका सट्टा पत्रकारका संस्थालाई समेत पठाइएको थियो,’ सापकोटाले भने,  ‘यदि उक्त कम्पनी आधिकारिक भएको भए विद्युत् नियमन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित ऊर्जा मन्त्रालयलाई पत्रको कपी पठाउनुपर्ने थियो । त्यसो नभई तेस्रो निकायलाई समेत उक्त पत्रको कपी जानुले उक्त कम्पनी झूटो हो भन्ने शंका पैदा भएको हो ।’

जेसीईले ठेक्का प्रक्रियामा सहभागी हुँदा हेजाउ साङचेङ कम्पनीसँग मिलेर चीनमा जलविद्युत् आयोजना बनाएको कागजात पेश गरेको छ । उक्त कागजात पेश गर्ने क्रममा जेसीईले हेचाउ कम्पनीको इमेल ठेगाना र फोन नम्बरसमेत उल्लेख गरेको थियो । तर, सापकोटाका अनुसार अहिले जेसीईले पेश गरेको कागजात नक्कली हो भनेर दाबीसहित जगदुल्लालाई प्राप्त भएको कम्पनीको फोन नम्बर पनि मिलेको छैन ।

जगदुल्लाका एक अधिकारीका अनुसार सिनो हाइड्रोले मूल्य अभिवृद्धि करसहित १५ अर्ब ७ करोड रुपैयाँ र जियाङ्सी र एएनकेको संयुक्त उपक्रमले १३ अर्ब ७३ करोड रुपैयाँ रकम कबोल गरेका छन् । यसको अर्थ, जियाङ्सी र एएनकेको संयुक्त उपक्रमले उक्त ठेक्का हात पार्न सक्ने देखिएको बेला नक्कली कागजात पेश गरेको आरोप उक्त संयुक्त उपक्रममाथि लागेको हो ।

सोही विवादका कारण जगदुल्ला जलविद्युत् आयोजनाको विवादित ठेक्का प्रक्रियामा स्पष्ट नभई सम्झौता अघि नबढाउन प्रतिनिधिसभाको सावर्जनिक लेखा समितिले निर्देशन दिएको छ । समितिले कम्पनीसँग जोडिएर केही निर्माता कम्पनी नक्कली कागजात पेश गरी बोलपत्रमा समावेश भएको भनी आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन भन्दै गत जेठ २३ मा निर्देशन दिएको हो । समितिको निर्देशनपश्चात् कम्पनीले समितिलाई जाँचबुझका लागि कागजात बुझाइसकेकाले नयाँ निर्णय पर्खिएको सापकोटाको भनाइ छ ।

विवादित ठेक्का प्रक्रियाका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत अनुसन्धान आगाडि बढाएको थियो । सिनो हाइड्रोले अर्को प्रतिस्पर्धी चिनियाँ कम्पनीले नक्कली कागजात पेश गरी जलविद्युत् परियोजनाको ठेक्का हात पार्न लागेको भनी निवेदन दर्ता गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो । यद्यपि प्रहरीले उक्त विषयमा अहिलेसम्म अनुसन्धान जारी राखेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

यो आयोजनाको विद्युत उत्पादन गृह मुड्केचुला गाउँपालिका–७ इलमा निर्माण हुने छ । जगदुल्ला गाउँपालिका १ हुरीकोटमा २० मिटरको जलाशययुक्त बाँध निर्माण गरि सुरुङमार्ग मार्फत विद्युत गृहमा पानी खसालिने छ । यसको साथै तीन सय मिटर जमिनमुनि भूमिगत विद्युत उत्पादन गृह निर्माणसमेत गरिने आयोजना प्रमुख सञ्जय सापकोटाले बताए । यहाँबाट उत्पादन भएको विद्युत सिधै जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपलस्थित ४ सय केभी प्रसारण लाइनमा जोडिने पनि आयोजना प्रमुख सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार
Translate »