सुर्खेतका तीन जना कृषक पुरस्कृत

 सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेतका तीन जना कृषकलाई पुरस्कृत गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय सुर्खेतले जिल्लाका तीन जना कृषकलाई एक कार्यक्रमका वीच मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत हुनेमा भेरीगंगा नगरपालिका–८ मा केरा खेती गरिरहेका विनोद शर्माले प्रथम पुरस्कार पाएका छन् । उनले ३० हजार नगदसहित सम्मान पत्र पाए । २५ हजार राशिको द्वितीय पुरस्कार वीरेन्द्रनगर नगरपालिका–१३ मा मेवा र ड्रागन खेती गरिरहेका ललितप्रसाद लामिछाने प्राप्त गरे ।

यस्तै भेरीगंगा नगरपालिका–१० की अञ्जना बुढालाई २० हजार राशिको तृतीय पुरस्कार प्रदान गरिएको छ । उनी तरकारी खेती तथा पशुपन्छी पालन व्यवसाय गरिरहेकी छन् । कृषकलाई सम्मान गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले धनराशि थोरै भए पनि प्रेरणा अनुकरणीय हुने भएकाले पुरस्कृत गरिएको बताए ।

यस्तो कार्यक्रमले अरुलाई पनि कृषिमा संलग्न हुने प्रेरणा जाग्ने विश्वास उनले व्यक्त गरे । कृषि क्षेत्रमा लागेर पुरस्कृत हुँदा हौसला बढेको पुरस्कृत कृषक विनोद शर्माले बताए । आगामी दिनमा अझै मिहिनेतमा साथ कृषि पेसामा लाग्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

Translate »