

बाँके । अवैध चोरी–निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीले नेपाल– भारत सीमा क्षेत्रमा निगरानी कडा पारेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले पछिल्लो ५ महिनामा करिब ४ करोड ९० लाख ९ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो।
गणपति प्रहरी उपरीक्षक शोभाकान्त खनालका अनुसार बरामद गरिएका सामग्रीमा किराना सामान, लत्ताकपडा, मोटर पार्ट्स, सवारी साधन लगायतका सामान छन् । चालु आर्थिक वर्षको असार महिनामात्रै १ करोड ८ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

सीमा क्षेत्रमा हुने तस्करी र अन्य अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले जिल्लाका सबै ८ वटा बीओपीहरू — कटकुइया, नरैनापुर, गंगापुर, खडैंचा, कालाबन्जार, जमुनाहा, जयसपुर र बढैयातालमा निगरानी कडा बनाएको हो ।
प्रहरी उपरीक्षक खनालले सीमा नाकाको सुरक्षा, राजस्व संकलन, चोरी–निकासी नियन्त्रण र मानव तस्करी विरुद्ध सशक्त रुपमा काम गर्न निर्देशन दिएका छन् । उनले सिमानाका गतिविधिमा मातहतका सुरक्षाकर्मीलाई कानुनी बमोजिम कठोररुपमा प्रस्तुत हुन निर्देशन गरिएको जनाए ।
अन्य सरोकारवाला निकायहरुसँगको समन्वयमा तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर निगरानी थप कडा पारिने उनको भनाइ छ ।











