कर्णालीमा झण्डै १५ प्रतिशतले औद्योगिक कर्जामा बृद्धि

सुर्खेत । कर्णाली प्रदेशमा औद्योगिक कर्जा झण्डै १५ प्रतिशतले बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक अध्ययन प्रतिवेदन अनुसार गत अवधिको तुलनामा १४ दशमलव ९५ प्रतिशतले वृद्धि भएको हो । प्रदेशभर प्रवाह भएको समग्र कर्जाको ६ दशमलव ४१ प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिवेदन अनुसार यस अवधिमा नमुना छनौंटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ३७ दशमलव ९३ प्रतिशत छ । जसमा कागज तथा कागजका उत्पादन सम्बन्धि उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९७ प्रतिशत छ भने दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २६ प्रतिशत रहेको छ ।

त्यस्तै, समीक्षा अवधिमा यस प्रदेशमा भित्रिने पर्यटकको संख्यामा ११ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । जसमा भारतबाट १२ दशमलव ८२, चीनबाट तीन दशमलव ६९ र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १३ दशमलव ३४ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकको तथ्यांक उल्लेख छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशमा विद्युत् प्रसारणलाइन २ हजार ४ सय १६ दशमलव ४७ किलोमिटर पुग्दा १७ दशमलव ४१ मेगावाट विद्युत् उत्पादन भएको छ । त्यसैगरी कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २५ दशमलव ६ प्रतिशत, १२ दशमलव ४ प्रतिशत र ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंक गरेको छ । यस अवधिमा कर्णालीको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३१ दशमलव ५, नौ दशमलव ६ र ५८ दशमलव ९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

Translate »