हुम्लाको सर्केगाडको एउटा पसलमा आगलागी हुँदा २ करोड बराबरको क्षति

हुम्ला । हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको केन्द्रमा रहेको ज्ञानु बुक्स एण्ड स्टेसनरी पसलमा अचानक आगलागी हुँदा करिब २ करोड बराबरको क्षति भएको छ ।

सर्केगाड गाउँपालिकाको कार्यालय अगाडि झापु कुना भन्ने ठाउँमा राखिएको स्टेसनरी पसलमा आगलागी हुँदा ६० लाख बराबरको स्टेसनरी सामाग्रीहरू पुर्णरुपमा जलेर नष्ट भएको हो ।

यो सँगै आगलागीबाट उक्त पसलमा राखिएको ६० लाख बराबरको खाद्यान्न तथा किराना सामाग्री, ५० लाख बराबरको फेन्सी सामाग्री, १५ लाख बराबरको स्पोर्ट सामाग्री, ५ लाख बराबरको भौतिक संरचना र ३ लाख नगद रुपैयाँ जलेर नष्ट भएको पसलका मालिक द्रुपता शाहीले प्रहरी चौकी सर्केगाडमा दिएको निवेदनमा उल्लेख गरिएको छ ।

तर पिडित शाहीले दिएको निवेदनमा उल्लेख गरिएको सामाग्रीहरू धेरै भएको भन्दै प्रहरी चौकीले मुचुल्का गर्न नसक्ने सर्केगाड प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुरेन्द्रदेव भट्टले बताए । उनका अनुसार १० बाई १० कोठामा १ करोड ९३ लाख बराबरको सामान हुन नसक्ने भन्दै त्यो अनुसारको मुचुल्का बनाउन नसकिने जनाए ।

सञ्चालक शाहीले नयाँ बनाएको उक्त पसल स्टोर गरी राख्ने भएकाले साँझ पसल बन्द गरी आएकाले कसरी आगलागी भयो भन्ने जानकारी नभएको बताईन् ।

Translate »