कर्णाली प्रदेश प्रमुख जोशीद्वारा ‘स्थानीय सेवा ऐन संशोधन विधेयक’ प्रमाणीकरण

 सुर्खेत । कर्णाली प्रदेश ‘स्थानीय सेवा ऐन’ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएको छ ।

प्रदेश प्रमुख यज्ञराज जोशीले आज ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् । स्थानीय तहका कर्मचारीहरुको वृत्ति विकासमा महत्वपूर्ण मानिएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण भएसँगै अब ऐनको रुपमा लागू हुनेछ ।

यो सँगै कर्मचारीको स्तरवृद्धिका लागि आवश्यक भौगोलिक क्षेत्रमा काम गरेको हुनुपर्ने अनिवार्य प्रावधान हटेको छ । लामो समयदेखि स्थानीय तहका कर्मचारीहरुले उठाउँदै आएको यो माग सम्बोधन भएपछि उनीहरुले यसलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएका छन् ।

यसअघि प्रदेश सभाको दोस्रो कार्यकालको छैठौं अधिवेशनको ३१ औं बैठकबाट कर्णाली प्रदेशसभाबाट ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको थियो । संशोधन विधेयकमा थप सुधार गरेर पारित गरिएको हो ।

Translate »