२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 24, 2026

पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आजपनि उतिकै आवश्यक छ : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का स्थायी कमिटी सदस्य यामलाल कँडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको विचारलाई व्यवहारमा उतार्न सक्दा मात्र राष्ट्रको दीर्घकालीन हितमा काम गर्न सकिने बताएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको ४७ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले पुष्पलालको योगदान प्रति श्रद्धा व्यक्त गर्दै देशप्रेम, समाजवाद र समानताको पक्षमा उहाँले देखाएको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।

पुष्पलालले व्यक्तिगत लाभभन्दा राष्ट्र र जनताको हितलाई प्राथमिकता दिनु भयो, त्यो सोच आजको नेतृत्व र नयाँ पुस्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कँडेलले पुष्पलालको सिद्धान्त, संगठन निर्माण र संघर्षको शैलीबाट अहिलेको नेतृत्वले धेरै सिक्नुपर्ने आवश्यकता रहेको औल्याए ।

पुष्पलालले कठोर परिस्थितिमा पनि समाजवाद, समानता र न्यायको पक्षमा अडिग रही कम्युनिस्ट आन्दोलनलाई संस्थागत गरेको उनको भनाइ थियो । मुख्यमन्त्री कँडेलले उत्पीडित वर्गको पक्षमा बुलन्द आवाज उठाउन पुष्पलालले देखाएको साहसिक बाटोलाई पछ्याउनुपर्नेमा जोड दिए ।

‘पुष्पलालले शिक्षालाई जनचेतनाको मूल आधार ठान्नुभयो, कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद गरेर विचारलाई आम जनतासम्म पु¥याउनुभयो, जुन कार्य आज पनि हामीलाई प्रेरणा दिईरहेको छ,’ उनले भने । कार्यक्रममा नेकपा (एमाले) का प्रदेश, जिल्ला, स्थानीय नेता र स्थानीय जनप्रतिनिधि, युवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार
Translate »