भारतबाट हराएका थिए सुर्खेतका दिदीबहिनी, भक्तपुरमा भेटियो शव

काठमाडौं । भक्तपुरमा आज मृत भेटिएका दिदीबहिनी भारतबाट हराएको खुलेको छ । करिब तीन साताअघि भारतको मुम्बईस्थित मीरा भाइन्दरबाट हराएका दुईजना नेपाली दिदीबहिनी शंकास्पद अवस्थामा भक्तपुरमा मृत भेटिएका हुन् ।

भक्तपुरको बोडेमा बिहीबार बिहान मृत फेला परेकी १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल सुर्खेतको पञ्चपुरी नगरपालिका–८ तिनकुनेका स्थायी वासिन्दा हुन् । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा मेनुनका र सिर्जनाको शव फेला परेको हो ।

दुई तले ट्रष्टको घरको भुइँ तलामा उनीहरु मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डीराज नेउपानेले बताए । आफू बस्ने डेरा कोठाको प्यासेजमा नाइनलको डोरीले बाँधेर झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो । फलामको डन्डीमा नाइनलको डोरी घुसाएर दुईतर्फको टुप्पाले घाँटीमा पासो लागेको अवस्थामा उनीहरु मृत भेटिएका हुन् ।

प्रहरीले उनीहरूको शव उठाएको छैन । आफन्तले मृतकका बाबुआमा आएपछि मात्रै शव उठाउनु भनेपछि घटनास्थल सुरक्षित गरेर राखिएको प्रवक्ता नेउपानेले बताए । भारतमा रहेका उनका बाबुआमा आजै दिल्लीबाट विमानमार्फत काठमाडौं आउने तयारीमा रहेको प्रहरीले बताएको छ ।

यता सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का वडाध्यक्ष दिपककुमार थापाले शव फेला परेका दिदीबहिनी आफ्नै वडाको तिनकुने दुलालथाई गाउँका भएको जानकारी दिए । वडाध्यक्ष थापाले भने, ‘ती दिदीबहिनीका बुवाको नाम बालाराम (बासुदेव) कँडेल हो । उनी श्रीमतिसँगै रोजगारीको लागि भारतमा बस्दै आएका छन् । ती दिदीबहिनीका दुईजना अंकल चाँही कोरियामा छन् ।’

वडाध्यक्ष थापाले उनीहरू केही समयअघि भारतबाटै हराएको खबर आफूले पाएको जानकारी दिए । मृतक दिदीबहिनीकी आमा उमा कँडेलले तीन साताअघि छोरीहरू मुम्बईको मिरा भाईन्दरबाट हराएको भन्दै स्थानीय सिगास टेलिभिजनलाई अन्तरवार्ता दिएकी थिइन् ।

उमा कँडेलले अन्तर्वार्ताका क्रममा छोरीहरू कम्प्युटर क्लास जान्छु भनेर घरबाट निस्किएको बताएकी छन्। उनले भनेकी छन्, ‘घरबाट कम्प्युटर कक्षा जान्छु भनेर निस्केका हुन्। कम्प्युटर कक्षाबाट घर आउँने समय ७ बजे हो। सात बज्येसम्म हेर्‍यौँ। घर नआएपछि फोन गरेँ। तर, लागेन्। कक्षामा भएको बेला फोन नलागेको होला भनेर भ्वाइस म्यासेज छोडेँ। नानीहरू घर आएर रोटी बनाउनु, खाना पकाउनु म काममा गएँ भनेर।’

त्यसपछि उनीहरूले पनि भ्वाइस म्यासेज पठाउँदै भनेका थिए, ‘हामी यहाँ छैनौं । ब्यङ्लोर गयौं । हामी पैसा कमाएपछि तपाईलाई भेट्छौं । त्यसभन्दा अगाडी भेट्न सक्दैनौं ।’

त्यो म्यासेज कान्छी सिर्जनाले गरेकी थिइन् । छोरीले त्यसो भनेपछि उमाले श्रीमानलाई फोन गरेर त्यसको जानकारी दिएकी थिइन् । त्यसपछि कँडेल दम्पतिले छोरीहरुको खोजीको लागि सबैतिर आग्रह गरेका थिए ।

‘म काममा थिएँ । पछि घर गएर हेर्दा छोरीहरुले आफ्ना सबै लुगा, पैसा लगेका रहेछन् । यताउता हेर्दा देखिँन । आफन्तकोमा फोन गर्‍यौं । भेटिएनन् । पछि प्रहरीलाई खबर गर्दा नेपालतिर गइरहेको भन्यो,’ उमाले भनेकी छन् ।

उनीहरूले यो कुरा तीन दिन पहिला ५ साउनमा बताएको प्रकाशित अन्तर्वार्ताको मितिबाट खुल्छ । त्यसको तीन दिनपछि दुवैजना झुन्डिएको अवस्थामा मृत भेटिएको खबर सार्वजनिक हुन्छ ।

यता, यो विषयमा भने केही जानकारी नभएको प्रहरीले बताएको छ । ‘अहिले उहाँहरूका बाबुआमा तथा आफन्तसँग हामीले कुराकानी गर्न पाएका छैनौं । होटलमा काम गर्ने होरहोइन त्यो पनि यकिन हुन पाएको छैन । अहिले सबै विषय अनुसन्धानकै क्रममा छ,’ नेउपानेले भने ।

प्रहरी स्रोतका अनुसार मृत भेटिएका किशोरी करिब १५ दिनअघिबाट उक्त घरमा बसेको पाइएको छ । उनीहरूले घरबेटीलाई भने आफूहरू कलेज पढ्ने भनेर कोठा लिएको बताएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थल सुरक्षित पारेर राखिएको छ । मृतकका बाबुआमा आएपछि घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागि पठाइएपछि बल्ल अनुसन्धानले गति लिने प्रहरीले बताएको छ । यी सबै कुरा उनीहरूका बाबुआमा आएपछि अनुसन्धान हुने प्रहरीले बताएको छ । –विभिन्न अनलाईनहरुको सहयोगमा

 

Translate »