२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 25, 2026

सुर्खेतका पाँच पालिकामा बाह्रै महिना सहुलियत मूल्य पसल सञ्चालनमा आउँदै



सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुर्खेतका पाँच पालिकामा बाह्रै महिना सहुलियत मूल्य खाद्य बिक्री डिपो स्थापना कार्यलाई तीव्रता दिएको छ ।

खाद्य व्यवस्थाले खाद्यान्नको सहज आपूर्ति तथा उपलब्धता सुनिश्चित गर्न पहिलो चरणमा जिल्लाका पाँच वटा पालिकामा सहुलियत मूल्य खरिद तथा विक्री कक्ष स्थापना कार्यलाई तीव्रता दिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका व्यापार प्रवद्र्धन विभागीय सहायक माधव मिश्रले सुर्खेतका सिम्ता, चिङ्गगाड, लेकबेशी, पञ्चपुरी र चौकुने गाउँपालिकामा खाद्य खरिद तथा विक्री कक्ष सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पुरा भएको बताए । उनले ती पालिकासँग खाद्यान्न आपूर्ति व्यवस्थापन सम्बन्धी समझदारी (एमओयू) गरि ढुवानीका लागि टेण्डर आव्हान गरिएको जानकारी दिए ।

उनका अनुसार ती पालिकाका खाद्य विक्री डिपोबाट स्थानीय उत्पादनको संकन, मौज्दात व्यवस्थापन, ढुवानी, बिक्री तथा बजारीकरणको कामलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । दाल, चामल, तेल, चिनी, नुन, पिठो लगायतका वस्तु अभाव हुने क्षेत्रमा अत्यावश्यक खाद्यान्न पु¥याउने र त्यहाँ उपलब्ध रैथाने बाली खरिद गरेर सहरी क्षेत्रमा बिक्री गरिने उनको भनाइ छ ।

यस कार्यक्रमले रैथाने बालीको संकलन, बजारीकरण र बिक्रीको सुनिश्चितताका लागि सहकार्य गरी कृषि उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । खाद्यका सहायक विभागीय प्रमुख मिश्रले कर्णालीमा उत्पादित रैथानी बालीमा ग्राहकको आकर्षण बढ्दै गएपछि प्रत्यक पालिकाबाट कृषि उपज खरिदको योजना बनाईएको जानकारी दिए ।

उनका अनुसार खाद्यले दुई वर्षदेखि हुम्लाको चिनो, कागुनो, सिमी, फापर र उवा तथा जुम्लाबाट मार्सी चामल खरिद गर्दै आएको छ । खाद्यले स्थानीय उत्पादन खरिद गर्न थालेपछि किसानलाई पनि फाइदा पुगेको उनको भनाइ छ ।

यता कर्णाली प्रदेश सरकारले पनि खाद्यसँग मिलेर रैथाने उत्पादन बिक्री वितरण गर्दैछ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष खाद्यसँग सम्झौता गरी आफ्नै मिल स्थापना गर्न लागेको मन्त्रालयका सचिव परशुराम रावतले जनाए । सरकारको गुणस्तर मापदण्ड अनुसार खाद्यान्नलाई प्याकेजिङ र लेभलिङ गरी प्रदेशको ‘मूल्यवान्’ लोगो लगाएर खाद्यलाई वितरणको जिम्मा दिइने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार
Translate »