सुर्खेतको ओखलढुङ्गामा राउटेले गरे वृक्षारोपण

सुर्खेत । पूर्वी सुर्खेतको लेकवेशी नगरपालिकाको ओखलढुङ्गाको डाँडामा लोपोन्मुख राउटे समुदायको सहभागितामा वृक्षारोपण गरिएको छ ।

राउटेहरु अब रुख काट्ने र मास्ने मात्र नभई वृक्षारोपण गर्नुपर्छ भन्ने भावना जगाउने उद्देश्यले लेकवेशी नगरपालिका–९, स्थित खाँडदेवी सामुदायिक वनमा वृक्षारोण गरिएको हो । सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत जंगलमै बस्ने र जंगलमै जीवन निर्वाह गर्ने राउटे समुदायसँग सहकार्य गर्दै खाँणदेवी वन समूहले ऐतिहासिक तथा नमुना कार्य गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले बताए ।

उनले वृक्षारोपण कार्यले वातावरणीय सन्तुलन कायम राख्न मद्दत पु¥याउने विश्वास व्यक्त गरे । लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेलले वृक्षारोपणसँगै वन संरक्षण तथा संवर्धनमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले हरियाली कायम गर्न तथा स्थानीयको जीवनस्तर उकास्न र बढ्दो तापक्रमलाई न्यूनीकरण गर्नको लागि वृक्षारोपण अत्यावश्यक रहेको बताए ।

उनका अनुसार आगामी दिनमा समेत डिभिजन वन कार्यालयको सहकार्यमा निरन्तर वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने छ । राउटे समुदायको सहकार्यमा खाँडदेवी वन समूहको ओखलढुङ्गाको डाँडामा खैर, सिसौं चिउरी, हर्रो, बर्रो, अमलालगायतका बहुवर्षिय काष्ठ तथा जडिवुटीजन्य प्रजातिका विरुवाहरु रोपण गरिएको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठले जानकारी दिए ।

उनले वृक्षारोपण गर्ने मात्र होइन, संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समूहसँगै उपभोक्ता बढी जिम्मेवार वन्न आग्रह गरे । डिभिजन वन कार्यालय सुर्खेतले १४ असारदेखि साउन १५ गतेसम्म एक महिने सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत जिल्लाभरी सामुदायिक वनका खाली क्षेत्रमा काष्ठ तथा गैह्र काष्ठ प्रजातिका र शहरी क्षेत्रका सडकका किनारा, सडक डिभाईडर, मठ मन्दिर, विद्यालयलगायत धार्मिक तथा सार्वजनिक क्षेत्रहरुमा सौन्दर्यमुलक तथा सदावहार प्रजातिका हालसम्म १६ हजार विरुवाहरु संरक्षणको सुनिश्चितता सहित रोपण गरिएको उनको भनाइ छ ।

वृक्षारोपण कार्यक्रममा लेकवेशी नगरपालिकाका उपप्रमुख विमला खड्लुक, प्रदेश वन निर्देशनालयका वन निर्देशक गणेश त्रिपाठी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वन व्यवस्थापन तथा जैविक विविधता महाशाखा प्रमुख दीपेश केसी, सामुदायिक वनका प्रतिनिधिहरु तथा डिभिजन वनका कर्मचारीहरुसँगै ईलाका प्रहरी कार्यालय लेकवेशीका (प्रमुख) (प्रहरी नायव निरीक्षक मनिष गुरुङ नेतृत्वको प्रहरी टोलीको सहभागिता रहेको थियो ।

बद्लिँदै राउटे समुदाय

जँगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय पछिल्लो समय परम्परागत मान्यताबाट पछि हट्दै गएको छ । पर्यावरणीय प्रभावका कारण आहारामा कमि हुनु, बाह्य समाजसँगको घुलमिल र जीवनयापनका लागि परनिर्भरता बढ्नुले आदिम मानव सभ्यता बोकेको एक अवशेष राउटे परिवर्तनको संघारमा पुगेको देखिन्छ ।

उनीहरु रहरले नभएर बाध्यताले पनि आफ्नै प्राचिन मान्यता र परम्पराबाट पछाडी हट्दै गएका छन् । आईतबार सुर्खेतको लेकवेशी नगरपालिका–९, स्थित खाँडदेवी सामुदायिक वन क्षेत्रको ओखलढुङ्गा चौरको खाली क्षेत्रमा राउटे समुदायको सहभागितामा विभिन्न जात विरुवा रोपण गरिएको छ ।

हाल लेकबेशीको चौरासेमा बस्दै आएका राउटेले नयाँ सन्देश मात्र होइन, वृक्षारोपण कार्यमा उत्साहपूर्ण सहभागिता जनाएका छन् । जँगलमा रुखहरु काट्ने र काठका सामाग्रीहरु निर्माण गर्ने राउटे वृक्षारोपण तर्फ लागेको देख्दा सबैलाई अचम्बित तुल्याएको छ ।

राउटेलाई वृक्षारोपण कार्यमा प्रोत्साहन गर्ने डिभिजन वन कार्यालय सुर्खेत र लेकवेशी नगरपालिकाले सराहनीय प्रयास गरेको स्थानीय बासिन्दा बताउँछन् । पछिल्लो समय जंगलमा काठ पाइन छाडेपछि काठका सामान बनाउने राउटेको पेशासंकटमा पर्दै आईरहेका बेला राउटेलाई नै वृक्षारोपण कार्यमा लगाउनु सकारात्मक प्रयास भएको स्थानीय युवा राजु पौडेलले बताए ।

उनले राउटेलाई सामाजिकरण गर्न र आफ्नै सीपमा मात्र विश्वास गर्ने राउटेहरु समुदायमा हुने सार्वजनिक काममा पनि सहभागी हुन सुःखद पक्ष भएको जनाए । यता राउटे मुखिया शेरबहादुर शाहीले समय चक्रसँगै राउटे समुदाय पनि परिवर्तन उन्मुख हुन थालेको स्वीकार गरे ।

‘जंगलमै बस्ने राउटे वृक्षारोपण गरौंला भन्ने हामीले सोचेका पनि थिएनौं,’ उनले भने, ‘अब त समय परिवर्तन भयो, जंगलमा रुखै पाइन छाडे । आउने पुस्ताका लागि बोट विरुवा नरोप्ने भने काठका भाँडा बनाएर पेट भर्न सकिदैन् ।’ उनले आउने भावी पुस्ताका लागि समेत वृक्षारोपण कार्यलाई निरन्तरता दिन आवश्यक रहेको औल्याए ।

Translate »