सुर्खेतमा राउटेले गरे वृक्षारोपण


सुर्खेत । पूर्वी सुर्खेतको लेकवेशी नगरपालिकाको ओखलढुङ्गाको डाँडामा लोपोन्मुख राउटे समुदायको सहभागितामा वृक्षारोपण गरिएको छ ।
आईतबार सुर्खेतको लेकवेशी नगरपालिका–९, स्थित खाँडदेवी सामुदायिक वन क्षेत्रको ओखलढुङ्गा चौरको खाली क्षेत्रमा राउटे समुदायको सहभागितामा विभिन्न जातका ३ सय बढी बोटबिरुवा रोपिएको हो ।
राउटे अब रुख काट्ने र मास्ने मात्र नभई वृक्षारोपण गर्नुपर्छ भन्ने भावना जगाउने उद्देश्यले खाँडदेवी वन उपभोक्ता समूहले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा खयर, सिसौं, चिउरी, हर्रो, बर्रो, अमला लगायत बहुवर्षीय काष्ठ तथा जडीबुटीजन्य विरुवा रोपिएको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठले बताए ।


वृक्षारोपण कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत जंगलमै बस्ने र जंगलमै जीवन निर्वाह गर्ने राउटे समुदायसँगको सहकार्यमा वृक्षारोपण कार्यले वातावरणीय सन्तुलन कायम राख्न मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।
लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेलले हरियाली कायम गर्न, स्थानीयको जीवनस्तर उकास्न र बढ्दो तापक्रमलाई न्यूनीकरण गर्नको लागि वृक्षारोपण अति आवश्यक बन्दै गईरहेको बताए । हाल लेकबेशीको चौरासेमा बस्दै आएका राउटे मुखिया शेरबहादुर शाहीले जंगलमै बस्ने राउटेले वृक्षारोपण गरौंला भन्ने नसोचेको बताउँदै समय परिवर्तनसँगै जंगलमा आफुहरुलाई चाहिने रुखै पाइन छाडेकाले नयाँ पुस्ताका लागि समेत वृक्षारोपण आवश्यक बन्दै गईरहेको जनाए ।
अहिले राउटेको जनसंख्या १ सय ३५ मात्र रहेको छ । वृक्षारोपण कार्यक्रममा लेकवेशी नगरपालिकाका उपप्रमुख विमला खड्लुक, प्रदेश वन निर्देशनालयका वन निर्देशक गणेश त्रिपाठी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वन व्यवस्थापन तथा जैविक विविधता महाशाखा प्रमुख दीपेश केसी, सामुदायिक वनका प्रतिनिधिहरु तथा डिभिजन वनका कर्मचारीहरुसँगै ईलाका प्रहरी कार्यालय लेकवेशीका (प्रमुख) (प्रहरी नायव निरीक्षक मनिष गुरुङ नेतृत्वको प्रहरी टोलीको सहभागिता रहेको थियो ।


