कर्णालीमा ‘घर बीमा’ कार्यक्रम शुरु

सुर्खेत ।  विपद्को उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा ‘घर बीमा’ कार्यक्रम शुरु भएको छ ।

विपद्बाट घर क्षति भएकालाई राहत दिन कर्णाली प्रदेश सरकारले ‘घर बीमा’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । प्रदेभित्र स्थायी बसोबास भएका नागरिकको निजी आवासीय घरको प्राकृतिक विपद् लगायत भवितव्यको कारणबाट हुने क्षति, नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूत गर्न ‘घर बीमा’ कार्यक्रम शुरु गरिएको प्रदेश सरकारले जनाएकोे छ ।

आज कर्णाली प्रदेश मुख्यमन्त्री यामलाल कँडेलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको सरोकारवालाको उपस्थितिमा घर बीमा कार्यक्रमको शुभारम्भ गरेका हुन् । पहिलो चरणमा घरको मूल्यांकन गरि स्थानीय तहको सिफारिससहित विवरण पठाएका १५ वटा स्थानीय तहका १६ हजार ७२ घरको घर बीमा गरि पोलिसी जारी गरिएको छ ।

बीमा पोलिसी जारी भएसँगै प्रतिघर अधिकतम् २० लाखसम्म प्रदेश सरकारले प्रिमियम व्यहोर्ने व्यवस्था गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव उत्तम गौतमले बताए । उनका अनुसार सो भन्दा माथि भए स्वयम् धरधनीले व्यहोर्नु पर्नेछ ।

प्रिमियम वापत घरको मूल्यांकन अनुसार कम्तीमा १ सय देखि अधिकतम् १ हजार १ सय २५ रुपैयाँसम्म प्रिमियम भुक्तानी भएको उनको भनाइ छ । घर बीमा अन्र्तगत गत आर्थिक वर्ष २०८१ /०८२ मा ४ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ९८ लाख २४ हजार ८ सय ९३ खर्च भएको बताईएको छ ।

स्थानीय तहमार्फत घरबीमा कार्यक्रम कार्यान्वयन गरिएको र क्रमशः यो कार्यक्रमलाई स्थानीय तहलाई नै हस्तान्त्रण गरिने प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले बताए । उनले चालु आर्थिक वर्ष २०८२÷०८३ मा घर बीमा कार्यक्रम तर्फ ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

उनका अनुसार आघिल्लो आर्थिक वर्षमा ‘घर बीमा’ कार्यक्रममा समाबेश हुन नसकेका स्थानीय तहलाई चालु आर्थिक वर्षमा समावेश गरिने योजना रहेको छ । घर बीमा’ कार्यक्रमले भूकम्पबाट हुने क्षति, अग्नीजन्य, हावाजन्य, पानीजन्य, भूमिजन्य, खस्ने वा भासिने सम्बन्धी जोखिम, चट्याङ्गजन्य जोखिम, आकाशिय सामाग्रीजन्य जोखिम, धक्काजन्य जोखिम, स्वजलन सम्बन्धी जोखिम, बाढी तथा डुवानबाट क्षतिग्रस्त घर, हुलदंगा तथा आतंकवादजन्य जोखिमसँगै अन्य प्राकृतिक विपद्का कारणले क्षतिग्रस्त हुने घरलाई समेटेको छ ।

पहिलो चरणमा सल्यानको शारदा नगरपालिका, दैलेखको ठाँटीकाँध गाउँपालिका, सुर्खेतका गुर्भाकोट नगरपालिका, लेकबेशी नगरपालिका र बराहताल गाउँपालिका, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका र सानीभेरी र्गाँउपालिका, कालिकोटका तिलागुफा नगरपालिका, पलाता गाउँपालिका र महाबै गाउँपालिका, डोल्पाको जगदुल्ला गाउँपालिका, जुम्लाको सिजा गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालका र जाजरकोटको बारेकोट गाउँपालिका रहेका छन् ।

यसअघि कर्णाली प्रदेशमा प्राकृतिक विपदबाट हुने मानवीय क्षतिको लागि सामुहिक दुर्घटना बीमा कार्यान्यवनमा रहेको ।

 

Translate »