उद्यमी युवाहरुलाई लगानी गर्न बैंकहरु खोज्दै

काठमाडौं । बैंक, वित्तीय संस्थासँग ७ खर्ब रुपैयाँभन्दा बढी थप लगानी गर्नसक्ने क्षमता छ । ऋणको ब्याजदर घटेर ५ प्रतिशत हाराहारीमा झरिसकेको छ । एकातर्फ बैंकहरूले लगानी विस्तार गर्न सकेका छैनन् भने अर्कोतर्फ उद्यम गर्न चाहने युवाहरूले  ऋण नपाएको गुनासो पनि उत्तिकै छ ।

यो अवस्थामा राम्रो व्यवसाय गर्ने उद्यमीलाई बैंकहरूले लगानीको अफर गर्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए ।

‘अहिले बैंकहरूसँग लगानी गर्न पर्याप्त तरलता छ, आधारदर र ब्याजदर घटिरहेको छ,’ किङ्स कलेज र न्यू बिजनेश एजको संयुक्त आयोजनामा शनिवारदेखि भइरहेको नेपाल आन्त्रप्रेनरशिप फोरम-२०२५ मा उनले भने, ‘राम्रो व्यवसाय गर्नुहोस्, लगानी गर्न तपाईंलाई खोज्दै बैंक आफै आउँछ ।’

विगतमा बैंकहरूले आक्रामक लगानी गर्दा उद्योगी व्यवसायीलाई चाहिने भन्दा बढी ऋण दिएको र त्यो पैसा शेयर बजार र घरजग्गामा लगाएर अहिले समस्या परेको ज्ञवालीले बताए ।

‘बैंकले व्यवसाय गर्न दिएको ऋण घरजग्गा, शेयर बजार र बाली घुम्न खर्च भयो,’ उनले भने, ‘वित्तीय रूपमा अनुशासनमा बसेको व्यवसायी कहिल्यै समस्यामा पर्दैन ।’

सीईओ ज्ञवालीले बैंकहरूले स्टार्टअप लगानीमा  प्राथमिकता नदिने भएकाले अन्य स्रोत खोज्न आग्रह गरे । स्टार्टअपका लागि बैंकको ऋण भन्दा पनि सरकारको सहुलियत कर्जाका साथै भेन्चर तथा प्राइभेट इक्यिुटीमार्फत लगानी जुटाउँदा बढी प्रभावकारी हुने उनको भनाइ थियो ।

उनले सामाजिक उद्यमीहरूलाई प्रवर्द्धन गर्न बैंकले सामाजिक उद्यमशीलतामा कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले स्टार्टअपका लागि सरकारले तीन प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा उपलब्ध गराएको जानकारी दिए । ५ वर्ष अवधिको यो कर्जाको ब्याजदर ३ प्रतिशत तोकिएको उनले बताए ।

स्वीट फिक्सकी सीईओ तथा फाउन्डर कृतिका लम्साल प्रविधिले व्यवसाय गर्ने तरिका नै परिवर्तन गरेको बताइन् । अनलाइन प्लाटफर्ममार्फत सामान विक्री गर्ने र अनलाइनमार्फत नै भुक्तानी लिन सकिने भएकाले भौतिक उपस्थितिको समेत आवश्यकता घट्दै गएको उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघिय औद्योगिक विकास संगठन (यूएनआईडीओ) का प्रोजेक्ट म्यानेजर अनिल पराजुलीले अनलाइन व्यवसाय टिकटक, इन्टाग्राम हुँदै विस्तार भइरहेको बताए । आर्थिक अभियान

Translate »