वीरेन्द्रनगर नगरपालिका–५, का वडाध्यक्षको मृत्यु


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ५ नम्बर वडाध्यक्ष लोकबहादुर शाहीको मृत्यु भएको छ ।
काठमाडौं स्थित वीर अस्पतालमा उपचार गराएर एम्बुलेन्सबाट आफ्नो घर सुर्खेत फर्किने क्रममा आज विहान भेरीगंगा नगरपालिकाको हर्रे आईपुग्दा बाटोमै वडाध्यक्ष शाहीको मृत्यु भएको हो ।

पछिल्लो एक वर्षदेखि फोक्सोमा क्यान्सर लागेर पीडित बनेका शाहीलाई निमोनियाले समेत आक्रमण गरेको थियो । वीर अस्पतालको आईसीयुमै राखेर पनि सञ्चो नहुने उपचारमा संलग्न चिकित्सकले बताएपछि घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ५ नम्वरका कार्यवाहक वडाध्यक्ष बासु आचार्यले बताए ।
उनले आज विहान साढे ११ बजेतिर शाहीको मृत्यु भएको जनाए । उनका अनुसार भोलि विहान ९ बजे तिर सुर्खेत स्थित भेरी नदीमा शाहीको दाहसंस्कार गरिने छ । वीरेन्द्रनगर नगरपालिकाले समेत बुधबार शोक विदा दिने उनको भनाइ छ ।
समाजसेवी शाही नेकपा एमालेबाट २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । विगत १० महिनादेखि विरामी परेका शाहीको निधनबाट अपुरणीय क्षती पुगेको नेकपा एमाले वीरेन्द्रनगर–५ नम्वर वडाले जनाएको छ ।

