डोल्पाका सुरक्षाकर्मीद्वारा ठुलीभेरी नदीनदीको बाढीमा फसेका चार जनाको सकुशल उद्दार

 सुर्खेत ।  डोल्पाका सुरक्षाकर्मीको टोलीले ठुलीभेरी नगरपालिका–३ स्थित धुपीचौरमा भेरी नदीको बाढीमा फसेका चार जनाको सकुशल उद्दार गरेको छ ।

आज बिहान उर्लेर आएको ठुली भेरीले ल्याएका दाउरा संकलन गर्न गएका चार जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले उद्दार गरेको हो । उद्दारमा हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–६ पालङ्ग गाउँ बस्ने ३३ वर्षीय ललित बोहोरा, २६ वर्षीय नन्दप्रसाद बोहोरा, ३७ वर्षिय श्यामलाल बोहोरा र ३५ वर्षीय लालकुमार बुढा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार दाउरा संकलनका लागि गएका चार जना दुईतिर बाँडिएको भेरीको भेलमा फसेको खबर आएपछि तत्कालै डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको निर्देशनमा खटिएको सुरक्षाकर्मीको टोलीले उनीहरुको सकुशल उद्दार गरेको हो ।

उद्दार कार्यमा डोल्पा प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकबहादुर खड्का, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक दीपकराज भट्ट र नेपाली सेनाका संग्राम शार्दुल गुल्मका सेनानी हरिस शाहीको सहभागिता रहेको थियो ।

उद्दार कार्यमा खटिएका केही सुरक्षाकर्मीलाई सामान्य चोटपटक समेत लागेको डोल्पा प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काले जनाए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयले यसअघि नै नदी तटीय क्षेत्रमा नजान स्थानीय बासिन्दालाई सचेत गराएको थियो ।

Translate »