डेंगु उकालो चढ्दै !

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो । यो रोग विश्वका धेरै देशमा प्रकोपको रुपमा देखापरेको छ । डेंगु ज्वरो एडिस एजिप्टाई/एलबोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट मात्रै सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टेलाई टाइगर मस्क्युटो पनि भनिन्छ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिहरुलाई पनि लाग्न सक्दछ । डेंगु डेन १, डेन २, डेन ३ डेन ४ गरी चार प्रजातिका डेंगु भाइरसबाट लाग्दछ ।  केही वर्ष पहिले मनसुनपछि छिटपुट मात्रा देखिने डेंगु अहिले कर्णालीमा उकालो चढ्न थालेको छ । यस वर्ष पनि डेंगी संक्रमण जेठदेखि नै क्रमशः बढ्दै गएर असोजसम्म उच्च रहने अनुमान गरिएको छ । यद्यपि ! यस वर्षपनि कर्णालीमा वर्षायाम शुरु भएसँगै डेंगुको संक्रमण विस्तारै कर्णालीका पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेको छ । सरकारी स्तरबाट डेंगु संक्रमण रोकथामका उपायहरु अवलम्वन गरिएपनि पर्याप्त हुन सकेका छैनन् । पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्ने भने प्रदेशका १० वटै जिल्लामा डेंगु फैलिसकेको छ ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले डेंगी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्य योजना बनाएको बताएपनि देखिने गरी कुनै काम गरेको पाइदैन् ।  प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकै तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०८१/०८२ मा कर्णालीका मुगु बाहेक नौ जिल्लामा २ हजार ३ सय ५५ जना संक्रमित भेटिएका थिए । ती मध्य सबै भन्दा धेरै प्रदेश राजधानी सुर्खेतमा २ हजार ७९ जना, रुकुम पश्चिममा १ सय ४३ जना, सल्यानमा ६९ जना, कालिकोटमा २६ जना, जाजरकोटमा २२ जना, दैलेखमा ७ जना, डोल्पामा ६ जना, जुम्लामा २ जना र हुम्ला १ जना संक्रमित फेला परेका छन् । त्यस्तै त्यस अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्णालीका जुम्लाबाहेक नौ जिल्लामा एक हजार ४ सय ६८ जना संक्रमित फेला परेका थिए । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा समेत कर्णालीको जुम्ला र सल्यानबाहेक आठ जिल्लामा २ हजार १ सय ३४ जना फेला परेका थिए । ती मध्य सबै भन्दा बढी सुर्खेतमा १ हजार ९ सय ७६ जना फेला परेका थिए । यसरी समग्रमा कर्णालीको सुर्खेत डेंगुको उच्च जोखम रहँदै आएको छ ।

सुर्खेतमा सबैभन्दा बढी डेंगुको जोखिममा वीरेन्द्रनगर नगरपालिका रहेको छ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये वीनपा बढी जोखिममा छ । गएको आर्थिक वर्ष २०८१/०८२ मा डेंगुका कारण ४ जनाको मृत्यु भएको थियो । डेंगु नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र परीक्षण पनि बढाउँदै लिएको सरकारी कार्यालयको दावी छ । यद्यपि ! चिसो मौसमका कारण विगतमा हिमाली क्षेत्रमा नदेखिने रोगहरु हिजोआज देखिन थालेका छन् । तापक्रम वृद्धि भएसँगै हिमालमा पनि कीटजन्य रोगहरु देखिन थालेपछि चिन्ता हुनु स्वाभाविकै हो । बदलिँदो मौसमका कारण कर्णालीका प्रायः जिल्लाहरुमा डेंगुको संक्रमण् फैलिंदो क्रममा रहेको छ । सरकारले श्रावण महिना–डेंगी सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान घोषणा कार्यक्रम अन्तर्गत विविध क्रियाकलापसहित सञ्चालन मात्र होइन, प्रभावकारी बनाउन जरुरी देखिन्छ ।

Translate »