कर्णाली र सुपका ९७ हिमालमा लाग्ने सलामी दस्तुर पूर्ण छूट

काठमाडौं । सरकारले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आरोहणका लागि खुला गरेका ९७ ओटा हिमालमा लाग्ने सलामी दस्तुर (रोयल्टी) मा पूर्ण छूट दिने भएको छ ।

दुई प्रदेशका ती हिमाल आरोहणमा लाग्दै आएको सलामी दस्तुर २ आर्थिक वर्ष (चालू आर्थिक वर्ष २०८२–८३ र २०८३–८४ सम्म) का लागि पूर्ण छूट गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्को साउन १२ गतेको बैठकले उक्त निर्णय गरेको हो ।

पर्यटन ऐन २०३५ को दफा ३६ तथा पर्वतारोहण नियमावली, २०५९ को नियम ३२ (ख) बमोजिम सलामी दस्तुर पूर्ण रूपमा छूट दिने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय सरकारले गरेको छ । नेपाल पर्वतारोहण संघका अनुसार मुलुकभर ४७१ ओटा हिमाल पर्वतारोहणका लागि खुला गरिएको भए पनि सगरमाथा, मनास्लुलगायत सीमित हिमाल आरोहणका लागि पर्वतारोहीको रोजाइमा पर्ने गरेका छन् ।

तर, सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाल भने आरोहणका लागि खुला गरिए पनि पर्वतारोही त्यहाँसम्म पुग्न खासै चासो नदिएका बेला सलामी दस्तुरमा छूट दिने निर्णय भएको छ । पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले ती प्रदेशमा पनि हिमाल आरोहणका लागि खुला गरिएको र पर्वतारोहीलाई प्रोत्साहनका लागि यो नीति लिइएको बताए ।

‘अपि, साइपल जस्ता हिमाल आरोहणका लागि खुला भए पनि त्यहाँ पर्वतारोही पुगेका छैनन्,’ रेग्मीले भने, ‘अब त्यता पनि आरोहणका लागि प्रोत्साहन गर्न सलामी दस्तुरमा छूट गरिएको हो ।’  पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ मा सलामी दस्तुरमा छूट दिन सक्ने व्यवस्था छ ।

उक्त नियमावलीमा भनिएको छ,’ राजपत्रमा सूचना प्रकाशन गरी नेपाली पर्वतारोही दल, विदेशी पर्वतारोही दलसँग सम्मिलित नेपाली पर्वतारोही दलका सदस्य वा देहायका हिमालचुली आरोहण गर्ने जुनसुकै पर्वतारोहीलाई सलामी दस्तुरमा आंशिक वा पूरै छूट दिन सक्नेछ ।’

एक आर्थिक वर्षमा तीन भन्दा कम पर्वतारोही दलले आरोहण गर्ने न्यून चाप रहेको हिमालचुली, मध्य पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र (तत्कालीन) मा रहेका हिमालचुली, प्राविधिक रूपले सजिलो र छोटो अवधिमा आरोहण गर्न सकिने हिमालचुली, नेपाल सरकारले तोकिदिएका खास हिमालचुली, र जेठ १५ गतेदेखि भदौ १५ गतेसम्म र पुस १ गतेदेखि फागुन १५ गतेसम्मको अवधिमा आरोहण गर्ने अन्य जुनसुकै हिमालचुलीलाई यस्तो सलामी दस्तुर छूट दिने व्यवस्था नियमावलीमा छ ।

उक्त नियमावलीले पर्वतारोहणका लागि लाग्ने सलामी दस्तुर समेत तोकेको छ । त्यसअनुसार सगरमाथा हिमालचुलीबाहेक अन्य हिमालचुलीको सलामी दस्तुर अमेरिकी डलरमा राखिएको छ । हिमालचुलीमा सात जनासम्मका सदस्य र प्रतिसदस्य थप सलामी दस्तुर तोकिएको छ । आर्थिक अभियान

Translate »