

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को नेतृत्वमा फेरबदल गर्दै नेपाल सरकारले विनोदकुमार शर्माको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति गठन गरेको छ।
संस्थामा देखिएको असहज परिस्थितिको समाधान गर्न साउन ९ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सिफारिसमा उक्त समिति गठन गरिएको हो।
शर्माको नेतृत्वमा गठित समितिमा उपाध्यक्षमा हरि बराल, महामन्त्रीमा मीनबहादुर मल्ल, कोषाध्यक्षमा लोकदर्शन श्रेष्ठ रहेका छन् । त्यस्तै, सदस्यहरूमा प्रा।डा। हरिदर्शन श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, कान्ति राजभण्डारी, डा। गंगाधर अधिकारी र हेमराज ओझा रहेका छन् ।

तदर्थ समितिको पहिलो बैठक साउन १४ गते बसेको थियो । बैठकले नेपाल सरकार, समाज कल्याण परिषद् तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई धन्यवाद ज्ञापन गर्दै संस्थालाई वर्तमान अवस्थाबाट निकास दिने प्रतिबद्धता जनाएको छ ।
समितिले रेडक्रसका मान्यता र आदर्शअनुसार तटस्थ र स्वतन्त्र रूपमा कार्य गर्ने स्पष्ट अठोट जनाएको छ । ‘विधान संशोधन गरी निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्दै निर्वाचित कार्यसमितिलाई जिम्मेवारी सुम्पनु नै हाम्रो मुख्य लक्ष्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘समावेशी सहभागितासहित ‘सबैको रेडक्रस’ बनाउने लक्ष्यमा समिति दृढ छ।’
तदर्थ समितिले आफ्नो जिम्मेवारी पूरा गर्न नेपाल सरकार, अन्तर्राष्ट्रिय रेडक्रस समिति, रेडक्रस महासङ्घ, साझेदार राष्ट्रिय सोसाइटीहरू, संयुक्त राष्ट्रसङ्घीय निकाय, कूटनीतिक नियोग, गैरसरकारी संस्थाहरू, रेडक्रसका पूर्व पदाधिकारीहरू, शाखा, उपशाखा, जुनियर तथा युवा सर्कल, कर्मचारी, शुभेच्छुक सबैसँग सद्भाव, सहयोग, समन्वय र सहकार्यको अपिल गरेको छ ।












