गाईभैंसीमा लाग्ने रोग ‘लम्पी स्किन’ बाट ८४६ पशुको मृत्यु

काठमाडौं । गाईभैंसीलगायत पशुचौपायामा लाग्ने रोग ‘लम्पी स्किन’ बाट देशभरि ८ सय ४६ पशुचौपायाको मृत्यु भएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार यो रोग ६ प्रदेशका २९ जिल्लामा फैलिएको छ र २७ हजार ४२५ पशुचौपाया यसबाट संक्रमित भएका छन् ।

लम्पी स्किन कोशी, बागमती, लुम्बिनी, मधेश, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको छ । यो रोगबाट सबैभन्दा बढी कोशी प्रदेशमा प्रभावित भएको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार गत असार ६ गतेदेखि साउन २० गतेसम्म कोशीका ११ जिल्लामा फैलिएको संक्रमणबाट २२ हजार १२२ पशुचौपाया विरामी भएको र ६३७ पशुचौपायाको मृत्यु भएको छ ।

विभागको विवरणअनुसार लम्पी स्किनको संक्रमण मधेशका ८ जिल्लामा, गण्डकी र कर्णालीको १र१ जिल्लामा, वागमतीको ५ जिल्लामा र लुम्बिनीका ३ जिल्लामा फैलिएको छ । सुदूरपश्चिममा भने हालसम्म रोगको पुष्टि भएको छैन ।

विवरणअनुसार मधेशमा १७९ पशुको मृत्यु भएको छ र ४ हजार ४९२ पशु संक्रमित भएका छन् । वागमतीमा यो रोगबाट ३० पशु मरेका छन् भने ७९३ पशु संक्रमित छन् । लुम्बिनीमा १६ र गण्डकीमा ७ पशु यसबाट संक्रमित भएको विभागको विवरणमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशबाहेक बाँकी ६ प्रदेशमा ५ लाख ६१ हजार ७५१ पशुचौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पनि विवरणमा उल्लेख छ ।

Translate »