सुर्खेतमा जलवायु उत्थानशील भू–परिधि तथा जीविकोपार्जन आयोजना स्थापना


सुर्खेत । जलवायु उत्थानशील भू–परिधि तथा जीविकोपार्जन आयोजना प्रदेश स्तरीय समन्वय तथा व्यवस्थापन इकाईको कार्यालय सुर्खेतमा स्थापना गरिएको छ ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले आज एक कार्यक्रम वीच उक्त आयोजनाको उद्घाटन गरेका हुन् । कर्णाली प्रदेशका मुगु, सल्यान र रुकुम पश्चिम तीन जिल्लालाई समेटेर जलवायु उत्थानशील भू–परिधि तथा जीविकोपार्जन आयोजना सुरु गरिएको हो ।
वन, जलाधार, सिंचाई जलवायु परिवर्तनजन्य लगायतका बहुप्रकोपको जोखिममा रहेका समुदायको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यका साथ नेपाल सरकार र एशियन डेभलपमेन्ट बैंकको सहकार्यमा आयोजना सञ्चालनमा आएको छ ।
वन तथा भू–संरक्षण विभाग, वन तथा वातावरण मन्त्रालयले कार्यान्वयनको जिम्मा पाएको कार्यक्रमले हाललाई कर्णाली प्रदेशका तीन जिल्ला समेटर कार्यक्रमको प्रभावकारिताका आधारमा आयोजना कार्यान्वयन गरिने आयोजनाका सुर्खेत प्रबन्धक रमेशकुमार गिरीले बताए ।

उनले जलाधार क्षेत्रको कार्यगत प्रणाली कायम राख्न एकिकृत जलाधार व्यवस्थापन, जलवायु अनुकुलन, पानीका श्रोतको बहुआयामिक व्यवस्थापन, भू–स्खलन न्यूनिकरण साथै वृक्षारोपणसहित हरित आयआर्जनजस्ता क्रियाकलापहरु सञ्चालन गर्दै जोखिमयुक्त समुदायको अपनत्व विकास, अनुकूलन क्षमतासँगै उत्थानशील जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्यका साथ समन्वय तथा व्यवस्थापन इकाई सुर्खेतमा स्थापित गरिएको जनाए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले पानीको श्रोत संरक्षण, व्यवस्थापन, बहुआयामिक उपयोग, व्यवस्थापन, भूमिगत जल भण्डारणको संरक्षण तथा अभिवृद्धि, कृषि वन प्रणाली, भू–उत्पादकत्व अभिवृद्धिसँगै पिछडिएका समुदायको लागि लक्षित कार्यक्रम लगायतका क्रियाकलाप आयोजनाले सञ्चालन गर्ने बताए ।
वन र पारिस्थितिकीय प्रणालीको दिगो र समावेशी व्यवस्थापन, वन विनाश र वन तथा पारिस्थितिकीय प्रणालीको क्षयीकरण रोक्न, कार्बन प्रशोधन क्षमता, जलाधार क्षेत्रको समृद्धिसँगै त्यसबाट प्राप्त लाभको निष्पक्ष तथा समन्यायिक वितरण सुनिश्चित गर्न आयोजनाले टेवा पुग्ने उनको विश्वास छ ।


