जाजरकोट, जुम्ला र बर्दियाका १७ भन्दा बढी नेपाली भारतमा सम्पर्कविहीन


सुर्खेत । भारतको उत्तराखण्डमा हालै आएको बाढी र पहिरोका कारण जाजरकोट, जुम्ला र बर्दियाका १७ भन्दा बढी नेपाली सम्पर्कविहीन भएका छन् । तीमध्ये जाजरकोटको कुशे गाउँपालिका–२ का १३ जना, जुम्लाका २ जना र बर्दियाका ४ जना रहेका छन् ।
गत मंगलबार उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी र बुधबार पौडी गढवालमा पहिरो गएको थियो । स्थानीय तहहरूले यी घटनामा नेपालीहरू परेको आशंका गर्दै नेपाल सरकारलाई खोजी तथा उद्धारमा सहयोग गर्न आग्रह गरेका छन् ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार, टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह र रविन सिंहको मृत्यु भएको छ । पीडित परिवारका सदस्यहरूका भनाइअनुसार अन्य केही मजदुरहरूसँग पनि सम्पर्क हुन सकेको छैन ।
जुम्लाको तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुमका एक व्यक्ति पनि बेपत्ता छन् । दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लका अनुसार, भारतीय प्रहरीबाट अझै औपचारिक जानकारी प्राप्त भएको छैन । धरालीमा २७४ जनाको उद्धार भए पनि सबैको पहिचान भइसकेको छैन ।
पौडी गढवालको ग्राम बाकुडा नजिक बुधबार बिहान खसेको पहिरोमा बर्दियाका पाँच जना बेपत्ता भएका छन् । तीमध्ये मधुवन नगरपालिका–६ का नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती, २ वर्षीय छोरा रोमन, मधुवन–५ की अमृता परियार र मधुवनकै सुवास विक रहेका छन् ।

