२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

नेतृत्व गर्नका लागि पद भन्दा कार्यसम्पादन महत्वपूर्ण हो : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेतृत्व गर्नका लागि पद भन्दा कार्यसम्पादन नै पहिलो आधार भएको बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा पेशागत महासंघ नेपाल कर्णाली प्रदेश समिति र सुर्खेत जिल्ला समितिले संयुक्तरुपमा आयोजना गरेको संगठन सुदृढीकरण तथा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले कुनै पनि ठाउँ वा पदको नेतृत्व गर्नका लागि कार्यसम्पादन नै पहिलो आधार हुने गरेको बताएका हुन् ।

उनले बदलिँदो युगमा जनताले पदको आधारमा होइन, सेवाभाव, नैतिकता र कार्यसम्पादनको आधारमा नेतृत्वको मूल्यांकन गर्ने गरेको जिकिर गरे ।

उनले भने, ‘आज सबै क्षेत्रमा सेवाभाव हराउँदै गएको छ, यो राम्रो कुरा होइन, यसलाई सुधार गर्दै जनतामा सकारात्मक सन्देश दिनु समयको माग हो ।’

कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले निर्वाचित जनप्रतिनिधि र पेशागत महासंघबिच एकआपसमा जीवन्त सम्बन्ध कायम गर्न आवश्यक रहेको औल्याएका थिए ।

कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल, नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह, वीरेन्द्रनगर नगरप्रमुख मालेहनमाया ढकाल, पेशागत महासंघ नेपालका उपाध्यक्ष भोलानाथ पोखरेल, कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका संगठनका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार
Translate »