कर्णालीबाट सुर्खेतको शुभ होटल प्रालि सरकारबाट सम्मानित


काठमाडौं । सरकारले कर्णाली प्रदेशबाट सुर्खेतको शुभ होटल प्रालिलाई सम्मानित गरेको छ ।
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गरे वापत आज काठमाडौंमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको हो । मन्त्रालयले कर्णालीको शुभ होटल प्रालिसहित ७ वटै प्रदेशका एक/एक वटा प्रतिष्ठानलाई सम्मान गरेको छ ।
मन्त्री शरदसिंह भण्डारीले कर्णालीको शुभ होटल प्रालि, सुदूरपश्चिमको महाकाली सुगर इ प्रालि, लुम्बिनीको बिजय डिष्टिलरी प्रालि, गण्डकीको गोर्खा ब्रुअरी प्रालि, बागमतीको वरुण विभरेज (नेपाल) प्रालि, मधेसको डाबर नेपाल प्रालि र कोशी प्रदेशको बुट्टाबारी टि प्रालिलाई सम्मानपत्र वितरण गरेका हुन् ।

कार्यक्रममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको प्रवद्र्धन, अनुसन्धान, नीतिगत परामर्श र सचेतनामूलक गतिविधिमा योगदान पुर्याउने प्रा डा सुनिलकुमार जोशीलाई कदर पत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुने प्रतिष्ठानहरूलाई बधाई दिँदै मन्त्री भण्डारीले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको समुचित प्रबन्धबाट श्रमिकको उत्पादकत्व अभिवृद्धि हुने बताए ।
उनले यसको अभ्यासबाट मुलुकको समग्र आर्थिक एवं सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने भन्दै सबै प्रतिष्ठानहरूलाई कार्यस्थल स्वास्थ्य, सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउन आह्वान समेत गरे । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डेले सम्मानित हुने प्रतिष्ठानहरूलाई २० वटा मापदण्डका आधारमा चयन गरिएको जानकारी दिए ।
उनले यस सम्मानले आगामी दिनमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका क्षेत्रमा योगदान पुर्याउन अन्य प्रतिष्ठानलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

