२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 25, 2026

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न राष्ट्र बैंकका गभर्नर पौडेलको सुझाव



सुर्खेत ।  नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्णालीमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् ।

राष्ट्र बैंक सुर्खेत कार्यालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको बैंक तथा वित्तीय संस्था तथा उद्योगी÷व्यवसायी प्रतिनिधिहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा गभर्नर पौडेलले अनुत्पादक क्षेत्रमा लगानीभन्दा पनि दिगो आर्थिक वृद्धि हासिल गर्न सकिने उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।

उनले आयात प्रतिस्थापन गर्नका लागि उत्पादन वृद्धि गर्नुको विकल्प नभएकाले मूल्यश्रृखला विकासलक्षित लगानीलाई प्राथमिकता दिन सुझाव दिए । राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासका लागि हुने भएकाले कर्णालीको आवश्यकतालाई पहिचान गरि लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई उनले सुझाव दिए ।

कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक रोशनकुमार सिग्देलले बैंक तथा वित्तीय संस्थाको लगानी कर्णालीको औद्योगिक तथा उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्नेमा जोड दिए । कर्णालीको औद्योगिक एवं उत्पादनमूलक क्षेत्र लगानी अभावमा समस्यामा पर्न नहुने उनको भनाइ थियो ।

छलफलमा उद्योगी÷व्यवसायीहरुले कृषि क्षेत्रमा ऋण सहुलियत हुनुपर्ने, दीर्घकालीन कार्य योजना सहित आर्थिक विकासमात्र नभई सामाजिक–आर्थिक विकासलाई जोड्नुपर्ने औल्याएका थिए । यता बैक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले भने कर्णालीमा निजी क्षेत्रले ब्याजदर कम हुँदा कुनै योजना नबनाउने तर ब्याजदर बढी भए लगानी गर्न पाएनौं भन्ने गुनासो गर्ने प्रवृत्ति रहेको बताए ।

कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्का, सुर्खेत चेम्वर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्मा, सुउवा संघका पूर्व अध्यक्ष लक्ष्मण कँडेल, नेपाल वीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख निलप्रसाद लामिछाने, नेपाल बैंकर्स संघ कर्णाली च्याप्टरका संयोजक सुरोज टण्डन, राष्ट्र बैंक सुर्खेतका निर्देशक शरणकुमार अधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ भदौ ३ गते मंगलबार
Translate »