कर्णाली प्रदेश प्रमख जोशीद्वारा जीवनाशक विषादी व्यवस्थापन विधेयक प्रमाणीकरण

सुर्खेत । कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।

आज कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका छन् ।  कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै अब विषादी बेच्न र छर्कन इजाजत लिनुपर्ने भएको छ ।

गएको बैशाखमा प्रदेश सरकारले ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जन सहितको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको थियो ।

प्रदेश सभाबाट जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जन सहितको विधेयक स्वीकृति भएर आज प्रमाणीकरणसँगै खेतीपातीमा प्रयोग हुने विषादीको बिक्री, भण्डारण, प्रयोग, अनुगमन जस्ता पक्षलाई प्रभावकारी बनाउने सरकारको उद्देश्य रहेको छ ।

अब इजाजत पत्र लिने व्यक्ति, संस्था वा निकायका सञ्चालक नेपाली नागरिक र कम्तीमा जेटिए उत्तीर्ण गरेको हुनुपर्ने छ । खुद्रा विषादी बिक्रेताले सुरक्षित भण्डारण, प्रयोग र बिक्रीसम्बन्धी तालिम पास गरेको हुनुपर्ने व्यवस्था छ । विषादी सार्वजनिक स्थलमा भण्डारण गर्न पाइने छैन ।

आवश्यकता अनुसार कृषि विज्ञानमा स्नातक वा सोसरह योग्यता भएकालाई अधिकृत स्तरको निरीक्षक नियुक्त गर्ने सक्ने प्रावधान यसमा रहेको छ । विधेयकले इजाजत पत्र नलिएमा, पञ्जीकरण नगरेमा, यो ऐनको पालना नगरेमा दण्ड, सजायको व्यवस्था समेत गरेको छ ।

Translate »