२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 25, 2026

कर्णाली प्रदेशका सुर्खेत र जुम्लामा ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम शुरु हुँदै



सुर्खेत । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम अब सुर्खेतमा पनि शुरु हुने भएको छ ।

सरकारले ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकाको आयुर्वेदिक उपचार विधिबाट स्वास्थ्य प्रवद्र्धन र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने ‘स्वर्णबिन्दु प्राशन! कार्यक्रम सुर्खेतमा भने असोज १ गतेदेखि शुरु गर्न लागिएको हो ।

सुर्खेतमा भदौं ५ गते देखि शुरु गर्ने भनिएपनि आवश्यक तयारी तथा पर्याप्त प्रचारप्रसार हुन नसक्दा मिति परिवर्तन गर्नु परेको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका कविराज निरीक्षक पुष्पा आचार्यले बताईन् ।  उनले पहिलो चरणमा कर्णाली प्रदेशका सुर्खेत स्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र र जुम्ला स्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम शुरु गर्न लागिएको जानकारी दिईन् ।

उनका अनुसार सरकारले ‘स्वर्णबिन्दु प्राशन’ निर्देशिका पारित गर्दै पहिलो चरणमा देशभरका २१ आयुर्वेद स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा यो कार्यक्रम लागू गरिएको छ । उनले स्वर्णबिन्दु प्राशन कार्यक्रम मार्फत ज्वरो, अजीर्ण, झाडा, रुघा, खोकी जस्ता समस्या भएका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई रोगहरुबाट जोगिने प्रभावकारी उपचार पद्धती भएको बताईन् ।

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निर्देशक डाक्टर लक्ष्मीनारायण तिवारीले परीक्षणका रुपमा यसअघि २०७९ सालदेखि नै राष्ट्रिय कार्यक्रमको रुपमै नमूना स्थानमा ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम शुरु गरिएको जनाए । उनका अनुसार आधुनिक वैज्ञानिक दृष्टिकोणबाट ‘स्वर्णबिन्दु प्राशन’ एक अत्यन्तै परिष्कृत नानो–मेडिसिन र न्युरो–इम्युनोमोडुलेटर फर्मुलेसन हो ।

‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रमलाई आधुनिक विज्ञान र जनस्वास्थ्य प्रणालीसँग जोड्दा बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा योगदान पुग्छ,’ उनले भने, ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग नलाग्ने स्वास्थ्य प्रणाली विकास गर्नु सरकारको प्राथमिकता भएकाले आगामी पुस्तालाई निरोगी बनाउने लक्ष्यअनुरुप कर्णालीमा यो कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको छ ।’

उनले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभरि स्वस्थ र मेधावी पुस्ता निर्माण गर्न ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रमले सहयोग पुग्ने बताए ।

के हो स्वर्णबिन्दु प्राशन ?

‘स्वर्णबिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो । यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार हुन्छन् । यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत पुग्छ ।

मस्तिष्कको क्षमता बढाउने जडिबुटीयुक्त ब्राह्मी घृतले स्नायु कोषहरुको रक्षा गर्ने र स्मरण शक्ति बढाउन भूमिका खेल्छ । शुद्ध मह आफैंमा एक प्राकृतिक जीवाणुरोधी तत्व हो, जसले संक्रमणबाट बचाउँछ । यी तत्वहरुको सही संयोजनले बालबालिकाको समग्र विकासमा प्रभाव पार्छ ।

आयुर्वेदको मुल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपास्वरुप सेवन गराइने विधिलाई नै स्वर्णविन्दु प्राशन भनिन्छ । यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता छ ।

यो कुनै अन्धविश्वासमा आधारित परम्परा होइन, यो हजारौं वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान हो । स्वर्ण भष्मको ‘इम्युनोमोडुलेटर’ गुण, ब्राह्मीको ‘न्युरो–प्रोटेक्टिभ’ क्षमता र महको प्राकृतिक ‘एन्टी–माइक्रोबियल’ गुणबारे आधुनिक अनुसन्धानले पनि पुष्टि गर्दै लगेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार
Translate »