स्वास्थ्य संस्थामा खानेपानी तथा सरसफाई सुधार सम्बन्धि तालिम सम्पन्न


वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा स्वास्थ्य संस्थाहरुमा खानेपानी तथा सरसफाई सुधार सम्बन्धि तालिम सम्पन्न भएको छ ।
युनिसेफ नेपालको आर्थिक सहयोगमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले आयोजना गरेको तीन दिने तालिममा स्वास्थ्य संस्थाहरुमा खानेपानी, सरसफाई, स्वच्छता (वास), फोहर व्यवस्थापन, संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धि जानकारी दिईएको हो ।
रुकुमेली समाज विकास केन्द्र (आरएसडीसी), रुकुम पश्चिमको सहजीकरणमा भएको तालिममा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ, स्वच्छता (वास), फोहर व्यवस्थापन र संक्रमण रोकथाम नियन्त्रण (वास) प्रणालीलाई सुधार गर्नु मुख्य रहेको आयोजकले बताएका छन् ।


तालिमका सहभागिहरुले आफ्ना स्वास्थ्य संस्थामा सुधार योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको रुकुमेली समाज बिकास केन्द्रका सचिब प्रवीर ददेलले बताए । उनले वास फिटका सूचक मूल्यांकन, जोखिम व्यवस्थापन, सुधार योजना निर्माण र फिल्ड अभ्यासहरु तालिमका सामाग्री रहेको जानकारी दिए ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निमित्त निर्देशक तेजकुमार दर्लामीको अध्यक्षतामा भएको तालिमको सहजीकरण स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका आशुतोष श्रेष्ठ, स्वास्थ्य सेवा निर्देशनालयका श्याम आचार्य, युनिसेफ नेपालका वास स्पेशिलिष्ट सिद्धि श्रेष्ठ, युनिसेफ कलष्टर अफिस सुर्खेतका वास अफिसर कटक रोकाया, बमबहादुर खड्कालगायतले गरेका थिए ।
तालिममा सुर्खेत, दैलेख, जाजरकोट र मुगुका ४० जना स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष सहभागिता रहेको थियो ।


