नेपाल प्रहरी महिला सःशक्तिकरणको नयाँ यात्रामा छ : प्रहरी महानिरीक्षक थापा

 सुर्खेत । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले नेपाल प्रहरी लैङ्गिक समावेशीकरणसँगै महिला सशक्तिकरणको नयाँ यात्रामा रहेको बताएका छन् ।

आज पूर्वी सुर्खेतको छिन्चु स्थित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक थापाले लैङ्गिक सम्वेदनशीलतालाई आत्मसात गर्दै नेपाल प्रहरीले महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि प्रभावकारी सेवा प्रवाह गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले नयाँ भवनबाट महिला बालबालिका तथा जेष्ठ नागरिकलाई उच्च प्राथमिकता दिँदै प्रभावकारी सेवा प्रवाह गर्न समेत मातहतका प्रहरी कर्मचारी निर्देशन दिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख (एसपी) सुधिरराज शाहीले ईलाका प्रहरी कार्यालय छिन्चुमा एक कोठाबाट मात्रै सेवा दिइएकोमा अब आफ्नै भवन हुँदा सेवा प्रवाह थप सहज हुने विश्वास व्यक्त गरे ।

महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन बनेसँगै अब सेवा लिन भएका नागरिकलाई बास बस्न समेत सहज हुनेछ । दुई तले नवनिर्मित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवनमा मिटिङहलसहित ११ वटा कोठा रहेका छन् ।

फर्निचरसहित ३ करोड ३५ लाख २७ हजार रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । भवन उद्घाटन कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्य, कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) माधबप्रसाद श्रेष्ठ, जनप्रतिनिधि एवं यूएनओपीएस कर्णाली प्रदेश संयोजक सृजना कार्कीलगायतको सहभागिता रहेको थियो ।

Translate »