विपद् प्रतिकार्य योजनामा जुट्न प्रहरी महानिरीक्षक थापाको निर्देशन


सुर्खेत । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले कर्णाली विपद्को उच्च जोखिममा रहेकोले पूर्व तयारीसँगै प्रतिकार्य योजनामा जुट्न मातहातका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
आज कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा आयोजित निर्देशन सम्बोधन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक थापाले विपद् प्रतिकार्यका लागि विभिन्न निकायहरुसँग समन्वय तथा सहकार्य गर्दै बाढीपहिरो, सवारी दुर्घटना जस्ता जोखिम क्षेत्रमा प्रहरीको सक्रिय बढाउन निर्देशन दिएका हुन् ।


उनले कर्णाली प्रदेशका मुख्य चुनौतीका रुपमा रहेका सडक दुर्घटना, लागु औषध ओसारपसार, आत्महत्या र महिला हिंसा न्यूनिकरणका लागि सचेतना फैलाउने कार्यमा जुट्न समेत आग्रह गरे । (आईजीपी) थापाले अबैध ओसारपसार तथा अपराध नियन्त्रणका लागि प्रदेशका सबै नाकाहरुमा निगरानी कार्यलाई विशेष प्राथमिकता दिन समेत सुझाव दिए ।
कर्णाली प्रदेशमा प्रहरीका धेरैजसो भौतिक संरचनाको अवस्था दयनिय रहेकाले जग्गा प्राप्तिदेखि भवन निर्माण कार्यका लागि स्थानीय तथा प्रदेश सरकारसँग समन्वय एवं सहयोग आवश्यक रहेको औल्याए ।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) माधबप्रसाद श्रेष्ठ, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केदार खनाल, सुर्खेतका प्रहरी प्रमुख (एसपी) सुधिरराज शाहीलगायत मातहत कार्यालयका प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।


