२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

राप्रपा सुर्खेतका ४ जना नेतामाथि स्पष्टीकरण



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिले सुर्खेतका चार जना नेताहरुमाथि कारबाही गर्ने तयारी गरेको छ।

उनीहरूमाथि अनुशासन समितिले स्पष्टीकरण सोधेकोमा प्राप्त भइसकेको र त्यसको बेहोरा अध्ययनकै क्रममा छ । सम्भवतः अर्को साता बस्ने अनुशासन समिति बैठकले ती नेता कार्यकर्तामाथि कारबाही गर्ने तयारी गरेको हो ।

केन्द्रीय सदस्यद्वय जनक सिंह, भीमबहादुर शाही, युवा संगठनका नेता प्रेम बिसी र सुर्खेत जिल्ला कार्यसमिति उपाध्यक्ष लक्ष्मीकुमारी सार्कीमाथि राप्रपा अनुशासन समितिले स्पष्टीकरण सोधेको र उनीहरूबाट पनि स्पष्टीकरण प्राप्त भइसकेको अनुशासन समितिले जनाएको छ । यी नेताहरूमाथि मुकुन्दश्याम गिरीलाई सहयोग पुग्ने गरी गतिविधि गरेको आरोप छ।

मुकुन्दश्याम गिरीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेको विरोधमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरी निर्णय फिर्ता लिन अध्यक्ष लिङ्देनलाई दबाब दिएका थिए । त्यसबेला राप्रपा सुर्खेत कार्यालय तालाबन्दीसमेत गरिएको थियो ।

पार्टी कार्यालय तालाबन्दी गर्न केन्द्रीय सदस्यद्वय जनक सिंह, भीमबहादुर शाहीले उक्साएको, युवा संगठनका नेता प्रेम बिसी तालाबन्दीमा संलग्न रहेको आरोप छ भने सुर्खेत जिल्ला कार्यसमिति उपाध्यक्ष लक्ष्मीकुमारी सार्कीले अनधिकृत रूपमा कार्यसमिति बैठक राखेको आरोप छ । यही आरोपमा राप्रपा अनुशासन समितिले उनीहरूलाई पार्टी हितविपरीत कार्य गरेको भन्दै कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेको थियो, उनीहरूले स्पष्टीकरणसमेत बुझाइसकेको बताईएको छ ।

साउन २ गते अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष तथा केन्द्रीय सदस्य दुवै पदबाट मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए । गिरीले उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशम्शेर राणा र कुन्तिकुमारी शाहीसँग मिलेर अध्यक्ष लिङ्देनका निर्णयमाथि चुनौती दिँदै विज्ञप्ति जारी गरेका थिए ।

नवराज सुवेदीलाई अनुशासन समितिबाट पदमुक्त गरिएको विरोधमा साउन १ मा विज्ञप्ति जारी गरेका गिरीलाई भोलिपल्टै पदमुक्त गरिएको थियो । गिरीलाई अध्यक्ष लिङ्देनले नै उपाध्यक्ष पदमा मनोनीत गरेका थिए । आफूले मनोनीत गरेका पदाधिकारीले आफैविरूद्ध गतिविधि, गुटबन्दी र घेराबन्दी गरेको भन्दै अध्यक्ष लिङ्देनले मनोनीत पदाधिकारीहरूलाई पदमुक्त गर्दै आएका छन्।

राप्रपा अनुशासन समिति अध्यक्ष रहेका नवराज सुवेदीको नेतृत्वमा चैत ४ गते राजसंस्था फर्काउन संयुक्त जनआन्दोलन समिति गठन भएको थियो । सुवेदीले चैत ५ गते आयोजित कार्यक्रममा आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । सोही घोषणालाई आधार मानेर अध्यक्ष लिङ्देनले सुवेदीलाई अनुशासन समितिबाट हटाएर उक्त पदमा उपाध्यक्ष रोशन कार्कीलाई असार २५ गते मनोनीत गरेका थिए ।

आफू राप्रपा केन्द्रीय सदस्य रहेको, अनुशासन समिति अध्यक्षसमेत रहेको र पार्टी सदस्यता लिखित रूपमा परित्याग नगरेको भन्दै सुवेदी निर्वाचन आयोग पुगेका थिए । अध्यक्ष लिङ्देनको निर्णय बदर गर्न माग गर्दै उनले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

त्यसबेला सुवेदीलाई साथ दिन पुगेका थिए, मुकुन्दश्याम गिरी । पछि उनले सुवेदीलाई पुनः जिम्मेवारीमा फर्काउनुपर्ने मागसहित अरु नेताहरुसँग मिलेर विज्ञप्ति निकालेपछि अध्यक्ष लिङ्देनले पार्टी हितविपरीत कार्य गरेको भन्दै पदमुक्त गरेका थिए । सेतोपाटी

 

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार
Translate »