‘बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको स्थिति छिटो सार्वजनिक गर्न सरकारसँग माग’

सुर्खेत । सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मानिस अझै सम्पर्कमा आएका छैनन् ।

बलपूर्वक बेपत्ता पारिएका त्यस्ता व्यक्तिका परिवारले सरकारसँग बेपत्ता भएका व्यक्तिको स्थिति छिटो सार्वजनिक गर्न माग गरेका छन् ।

बेपत्ता पारिएका व्यक्तिका आफन्त अझैपनि आफ्ना मान्छेहरु आउने आशामा पर्खिरहेका छन् । नेपाल रेडक्रस सोसाईटी सुर्खेतले आज अन्तर्राष्ट्रिय बेपत्ता दिवस–२०२५ का अवसरमा सुर्खेतमा आयोजना गरेको कार्यक्रमका सहभागीले छानबिन आयोगले अहिलेसम्म बेपत्ता व्यक्तिको अवस्था सार्वजनिक नगरेको भन्दै सरकारमार्फत यथाशीघ्र बेपत्ता भएका व्यक्तिको स्थिति के हो भनेर जानकारी गराउन आग्रह गरेका हुन्

। कर्णालीमा राज्य र विद्रोही पक्ष माओवादीबाट १ सय ११ जना बेपत्ता पारिएका थिए । ती मध्ये सुर्खेतका २६ जना, सल्यानका २८ जना, जाजरकोटका २१ जना, दैलेखका १ जना, डोल्पाका २ जना, कालिकोटका २६ जना, मुगुका २ र जुम्लाका ५ जना दुवै पक्षबाट बेपत्ता पारिएका हुन् ।

सशस्त्र द्वन्द्वताका बेपत्ता पारिएका कतिपय व्यक्तिहरुको अहिलेसम्म न त सास पाइएको छ, न लास नै नपाईएकाले थप पीडामा भोग्नु परेको बताएका छन् । वीरेन्द्रनगर–३, का ऐनबहादुर शाहीले जनयुद्धमा बेपत्ता पारिएका परिवारका आफन्तलाई यत्तिका वर्षसम्म पनि सरकारले बेपत्ता व्यक्तिको स्थिति सार्वजनिक नगर्दा यस्ता दिवसले थप पीडा दिने गरेको जनाए ।

अहिले बेपत्ता भएका परिवारको बिचल्ली रहेको बताउँदै नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशका सभापति लिलाराम सुवेदीले कमाउने छोरा/छोरी मारिएपछि राज्यले उनीहरुको संरक्षणको जिम्मा लिँदै रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुमा जोड दिए ।

यता जिल्ला समन्वय अधिकारी मेघनाथ सापकोटाले बेपत्ता पारिएका मानिसहरुको खोजीविन जारी राख्दै उनका आफन्तका लागि विभिन्न सहुलियतपूर्ण कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्नका लागि तीनै तहका सरकारवीचको आपसी समन्वय तथा सहकायले खोजीविन कार्य जारी राखिएको जनाए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बेपत्ता व्यक्तिको स्थिति सार्वजनिक गर्न तीनै तहका सरकारसँगै विभिन्न संघसंस्था र पीडित पक्षको पनि सहयोग तथा समन्वय आवश्यक रहेको औल्याए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुर्खेतका सभापति रामलाल आचार्यले नेपाल रेडक्रस सोसाईटीले सरकार र पीडित पक्ष वीच पुलको काम गर्दै पीडितहरुलाई सत्य कुरा थाहा पाउने, न्याय पाउने र परिपूरण पाउने हकका लागि वकालत गर्दै आईरहेको जनाए ।

सरकारद्वारा संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पु¥याउन गठित दुवै आयोगलाई आवश्यकता अनुसार नेपाल रेडक्रसले विभिन्न समयमा सुझाव र सहयोग दिने गरिरहेको उनको भनाइ थियो । उनले अन्तर्राष्ट्रिय बेपत्ता दिवसमा बेपत्ता पारिएका व्यक्तिहरुलाई स्मरण गर्दै उनीहरुको योगदान प्रति उच्च सम्मान व्यक्त गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुर्खेतका मन्त्री चेतनकुमारी सुवेदीले सबै सरोकारवाला, पीडित परिवार, प्रमुख अतिथि, अतिथीहरु र सहभागीप्रति हार्दिक आभार प्रकट गर्दै यस अवसरमा रेडक्रसले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरु र तिनका परिवारको अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता जनाए ।

Translate »