मुगुमा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

मुगु । अविरल वर्षा र खराब मौसमका कारण तीन दिनदेखि हवाई सेवा पूर्णरुपमा अवरुद्ध भएको छ ।

मुगुको रारा विमानस्थल ताल्चामा उडान रोकिएपछि जिल्लामा आउजाउ गर्ने यात्रुहरू अलपत्र परेका छन् । सदरमुकाम गमगढी र आसपासका गाउँबाट ताल्चा विमानस्थल पुगेका यात्रुहरु दिनदिनै विमानस्थलमै प्रतीक्षा गर्दै निराश भएर फर्किन बाध्य भएका छन् ।

आकस्मिक काम, स्वास्थ्य उपचार र अन्य जिल्लामा पुग्ने उद्देश्यले आएका यात्रुहरुको समस्या झन् गहिरिँदै गएको छ । रारा विमानस्थलका प्रमुख रामेल बरियाले अविरल वर्षाका कारण आकाशमा बाक्लो हुस्सु र कुहिरोको कारण जहाज उड्न नसकेको जानकारी दिए ।

जिल्लाबाहिर जाने यात्रुहरुको चाप उतिकै भएको र सम्भवतः बुधवारबाट उडान सुचारु हुन सक्ने पनि प्रमुख बरियाले बताए । मौसममा सुधार आउनासाथ नियमित उडान गर्ने तयारीमा समिट, तारा र सीता एयरका जहाज रहेको बताइएको छ ।

Translate »