चाडपर्व लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि


सुर्खेत । दशैं, तिहार, छठजस्ता हिन्दु धर्म मान्ने नेपालीका प्रमुख चाडपर्व लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि देशभर सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४९ ओटा पालिकाकासहित १ सय ५१ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेशनले ४० स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेका छन् ।
हरेक वर्षजस्तै खाद्य कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले संयुक्तरुपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु विक्रीवितरण गर्ने तयारी गरेका छन् । चाडपर्वमा उपभोक्तालाई बजार मूल्यभन्दा कममा सामान उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गर्ने गरिन्छ ।

सुपथ मूल्य पसलमा नुन, चामल, तेलमा छूटको व्यवस्था गरिएको छ । चाडपर्व लक्षित यस्ता पसलमा उपभोक्ताले विभिन्न वस्तुमा प्रतिकिलो ५ देखि १० रुपैयाँसम्मको छुट पाउने छन् । कम्पनीले सञ्चालन गर्ने पसलमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छूट दिइने छ ।
हरेक ब्रान्डका खानेतेल तथा आँटा र मैदामा प्रतिकिलो ७ रुपैयाँ छूट दिइनेछ । त्यसैगरी, कर्णालीको सिमी, फापर, चिनो, कागुनो, उवा र जुम्ली मार्सीजस्ता रैथाने उत्पादनमा प्रतिकिलो १० रुपैयाँ छूटको व्यवस्था गरिएको छ । साल्ट ट्रेडिङले आफ्ना विक्री केन्द्रबाट नुनमा प्रतिकिलो २, चिनीमा प्रतिकिलो ५ तथा तेल, चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छूट दिने जानकारी दिएको छ ।


