नक्कली बिहे गराई ठगी गर्ने दुई जना पक्राउ


सुर्खेत । सुर्खेत प्रहरीले नक्कली बिहे गराई ठगी कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
फेसबुक लगायतका सामाजिक सञ्जालको माध्यमबाट नक्कली आमाबाबु, छोरी बनेर नगद र गरगहना लिने मनसायले ठगी गरेको उजुरी परेपछि प्रहरीले वीरेन्द्रनगरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दैलेख साँडु घर भई वीरेन्द्रनगर–१०, बस्ने ४० वर्षीय गोपालकुमार विक र अछामको तुर्माखाँद–३, घर भई वीरेन्द्रनगर–१०, बस्ने वर्ष ३८ को भविसरा रास्कोटी मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार एउटै महिलालाई फरक–फरक मितिमा विभिन्न पुरुषसँग बिहे गराई ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट बिहेमा प्रयोग हुने कपडा, सुनका गरगहना र बिहे गर्दाका फोटोहरु बरामद भएका छन् । पक्राउ परेका विक र मगर आमाबाबु बनेर ठगी गरेको खुलेको छ भने दुलही बनेकी महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुमाथि अपराधिक लाभ तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।


