सडक सञ्जालको विस्तारले हुम्लामा सस्तियो दैनिक उपभोग्य वस्तु


सुर्खेत । कर्णाली करिडोर सडक सञ्चालनमा आएपछि हुम्लामा दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीको मूल्य घटेको छ । सडक विस्तारले ढुवानी सहज हुनुका साथै बजारमा सामान सस्तो र सहजै उपलब्ध हुन थालेको हो ।
स्थानीय उत्पादनको बजार विस्तारसँगै रोजगारी र आर्थिक गतिविधि बढेका छन् । सडक पहुँचको विस्तारसँगै स्थानीयको जीवनशैलीमा सुधार आउन थालेको छ । पछिल्लो सयम विकास निर्माणका कामले समेत गाउँमा परिवर्तन ल्याएको सिमकोट गाउँपालिका–७ का पदमबहादुर रोकायाले बताए । उनले एक वर्षअघिसम्म ५ किलो चामलका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको जनाए ।
‘महँगीले बजारको चामल किन्नै नसकिने, खाद्यमा दिनभरि लाइन बसेर पनि कहिलेकाहीं रित्तो हात फर्किनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘गाडी पुगेपछि पुस्तौंदेखिको चामलको टन्टाबाट मुक्ति पाएका छौं ।’ उनका अनुसार सडक सुविधा नहुँदा यसअघि जहाजमा प्रतिकिलो १ सय २५ रुपैयाँ ढुवानी भाडा तिरेर खाद्यान्नको जोहो गर्नुपर्ने बाध्यता थियो ।
कर्णाली कोरिडोरअन्तर्गतको खार्पुनाथ गाउँपालिका–५ चुवाखोलास्थित कर्णाली नदीमा गत असार २२ मा बेलिब्रिज निर्माण भएपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । दक्षिणतर्फ नेपाल–भारत सीमाको नेपालगन्ज–जमुनाहादेखि उत्तरतर्फ हिल्सा हुँदै चीनतर्फको नाका जोड्ने कर्णाली करिडोर ६ सय ८२ किलोमिटर लामो छ ।
कालीकोटको खुलालुबाट नेपाली सेनाले २ सय ८६ किलोमिटर सडकको ट्¥याक खोलेपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । २०५७ सालबाट निर्माण सुरु गरिएको यो सडकले कालीकोट, बाजुरा र हुम्लालाई जोडेको छ । सडक पुगेसँगै सस्तो ढुवानीले उपभोग्य वस्तुको मूल्य आधा घटेको व्यवसायी बताउँछन् । सिमकोटका व्यापारी सुन्दर लामाका अनुसार अहिले खाद्यान्नको मूल्य प्रतिकिलो कम्तीमा ८० देखि १ सय रुपैयाँसम्म घटेको छ ।
‘कहाँ जहाजको प्रतिकिलो १ सय २५ रुपैयाँ ढुवानी भाडा, कहाँ गाडीको प्रतिकिलो २० देखि २५ रुपैयाँ छ,’ उनले भने, ‘अहिले नेपालगन्ज र सुर्खेतमा पाइने सबै सामान यहीं पाइन्छ, त्यो पनि भाडा र नाफा २०/३० रुपैयाँ जोडेर ।’ यातायात सञ्चालनमा आएपछि चामल, दाल, तेल, चिनी, एलपी ग्यासलगायत दैनिक उपभोग्य वस्तुको मूल्य कम्तीमा ४० प्रतिशतले घटेको उनको भनाइ छ ।

उनका अनुसार अहिले गाडीबाट ३० रुपैयाँदेखि ४५ रुपैयाँ प्रतिकिलोमा सामान ढुवानी भइरहेको छ । सदरमुकामसँग अन्य पालिकाहरु पनि सडक सञ्जालमा जोडिएपछि घोडा, खच्चड व्यवसाय गर्नेहरुले धमाधम ट्¥याक्टर, बस, मिनिट्रक किन्न थालेका छन् भने किसानहरु होटल, ढुवानी व्यवसाय, पसललगायतमा लगानी गर्न थालेका छन् । ‘सडकले महँगी हटायो, सुविधा भित्र्यो,’ उनले भने, ‘सदरमुकामसम्म ठूला गाडीमा पुगेको खाद्यान्न साना गाडीमा उपभोक्ताको घरसम्म पु¥याउन थालेका छौं ।’ सडक पुगेसँगै हुम्लाका गाउँ साना बजारमा परिणत हुन थालेका छन् ।
स्थानीय बासिन्दाको जीविकोपार्जनको आधार नै जडीबुटी, पशुपालन र फलफूल व्यवसाय हो । हुम्लामा कटुकी, चिराइतो, भोल्ते, पाँचऔलेलगायत जडीबुटीको राम्रो उत्पादन हुन्छ । स्थानीय बासिन्दा नजिकैका सामुदायिक वनमा गई जडीबुटी संकलन गरेर आफ्नो खर्च टार्छन् । स्थानीयस्तरमा उत्पादित जडीबुटी प्रतिकिलो २ सयदेखि १ हजार रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको जडीबुटी व्यवसायी गुरु लामाले बताए ।
उनका अनुसार सडकले जडीबुटीको ढुवानी पनि सहज भएको छ । ‘अहिले २० देखि ५० रुपैयाँ प्रतिकिलो गाडीमा ढुवानी गरेर जडीबुटी सुर्खेत र नेपालगन्ज पु¥याउँछौं,’ उनले भने, ‘पहिले त डेढ सय रुपैयाँ प्रतिकिलोमा जहाजमा जडीबुटी पठाउनुपथ्र्यो, जहाजले बोक्नै नमान्दा आधाजसो जडीबुटी त यहीं कुहिन्थ्यो ।’ गाडी पुगेपछि हुम्लामा उत्पादन भइरहेको सिमी, स्याउ, मार्सी, आलु, उवा र चिनोलगायत अर्गानिक उत्पादनले सजिलै बजार पाउन थालेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।
‘अहिले खाद्यान्न र उपभोग्य सामान ल्याएका ट्रकहरुमा यताको स्याउलगायत हुम्लाको उत्पादन सहर गइरहेको छ,’ उनले भने, ‘सडकले सहरसम्मको दूरी मात्रै छोट्याएन, भान्सा सस्तियो, स्थानीयलाई जीविकोपार्जनको आधार दियो ।’ अहिले नेपालगन्जबाट आएका व्यापारीले बगैंचामै गएर प्रतिकिलो ५० रुपैयाँमा स्याउ खरिद गरी लिइरहेको उनले जानकारी दिए ।
सडक पुगेसँगै हुम्लामा निर्माण सामग्री पनि सजिलै पाइन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए । उनका अनुसार सिमेन्ट प्रतिबोरा साढे ८ हजार रुपैयाँ पर्नेमा अहिले २ हजार रुपैयाँमा झरेको छ । त्यस्तै पहिले ३ सय ५० पर्ने किलाकाटा प्रतिकिलो १ सय ७०, ३ सय पर्ने ग्याबिन जाली १ सय ४० रुपैयाँमा झरेको छ ।
प्रतिकिलो २ सय ८० पर्ने फलामे डन्डी १ सय २२ र प्रतिबन्डल २२ हजार पर्ने जस्तापाता १३ हजार ५ सय रुपैयाँमा झरेको उनले जानकारी दिए । उनका अनुसार निर्माण सामग्रीको मूल्य घटेसँगै सदरमुकाम र आसपासका व्यापारिक केन्द्रमा स्थानीयले धमाधम पक्की घर निर्माण गर्न थालेका छन् । उनले डिजेल प्रतिलिटर ४ सय पर्नेमा अहिले १ सय ६५ र पेट्रोल प्रतिलिटर ५ सय पर्नेमा अहिले २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

