बाढीपहिरोले कर्णाली प्रदेशका चार वटा सडक पूर्णरुपमा अवरुद्ध

सुर्खेत । बाढीपहिरोका कारण कर्णालीका चार वटा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् ।

सुर्खेत जुम्ला सडक अन्तर्गत कालिकोटको गगने खोलामा पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) केदार खनालका अनुसार हिजोदेखि नै परिहेको वर्षाका कारण गगने खोलामा पहिरो खसेपछि यातायातका सवारी साधन चल्न सक्ने अवस्था छैन । अहिलेपनि पहिरो बगिरहेकोले काम गर्न पनि कठिन भईरहेको छ ।

उता कर्णाली करिडोरको सर्केगाडदेखि मिमिहुँदै मुगु जाने सडक समेत पहिरोका कारण अवरुद्ध भएको छ । त्यस्तै सिमिकोट–हिल्सा सडक समेत पूर्णरुपमा अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

भेरीकरिडोर अन्तर्गत जाजरकोट–रुकुम पश्चिम–डोल्पा सडकको गोतमकोट खोलिबगरमा पहिरो गएर सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन डोल्पाबाट डोजर प्रस्थान गरेको एसएसपी खनालले जानकारी दिए ।

सबै ठाउँका अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनको भनाइ छ ।

Translate »