फापर खेतीतर्फ कृषकको पुनः आकर्षण

मुगु । गाउँघरका कृषकको फापर खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तरकारी र नगदे बालीले केही वर्ष ओझेलमा पारेको फापर खेतीको महत्व अहिले बुझेपछि कृषक पुनः आकर्षित भएका हुन् ।

विशेषगरी जिल्लाका मुर्मा, पिना, रारा र आसपासका बस्तीका कृषक फापर खेती गर्न थालेका छन् । स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभई राम्रो मूल्य पाइने भएकाले कृषक पुनः फापर खेतीतर्फ आकर्षित भएका छन् ।

स्थानीय शिक्षक नन्दसिंह रोकायाका अनुसार फापर खेती पहिले जस्तै लोकप्रिय हुन थालेको छ । उनले भने, ‘हाम्रो पुरानो र मुख्य खेती नै फापर हो । अहिले बजारमा चामल र गहुँले ठाउँ लिए पनि फापर खेती फाइदाजनक भएकाले यसप्रति आकर्षण बढ्दै गएको हो ।’

मुर्मा गाउँकै अर्का कृषक झुपुकला रोकायाले माग बढ्दै गईरहेकाले अन्य खेती भन्दा फापरले बढी आम्दानी दिन थालेको बताईन् । उनले भनिन्, ‘पहिले फापरलाई गरिबको अन्न भनेर हेपिन्थ्यो । तर अहिले यसको पीठो र परिकार बजारमा महँगोमा बिक्री हुने गर्छ । यसले हामीलाई आत्मनिर्भरतासँगै आयस्रोत वृद्धि गरेको छ ।’

मुगु–रारा पर्यटकीय क्षेत्रमा आउने पर्यटकले स्थानीय उत्पादन खोजी गर्ने भएकाले फापरको माग दिनानुदिन बढ्दो छ । होटल व्यवसायीहरुका अनुसार, पर्यटकले विशेषगरी फापरको ढिँडो, रोटी, लड्डु, तथा विविध परिकार माग गर्छन् । यसले किसानलाई उत्पादन बढाउन थप हौसला मिलेको छ ।

फापरमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, आइरनलगायतका पौष्टिक तत्त्व हुने गर्दछ । उच्च रक्तचाप, मधुमेह, मुटु रोगीका लागि फापर उपयुक्त मानिने भएकाले स्थानीय उत्पादनले बाहिरी बजारमा प्रतिस्पर्धा गर्न सक्ने कृषकको विश्वास छ ।

जिल्लाको चिस्यानयुक्त भेगमा सहजै फल्ने यो बालीमा उत्पादन खर्च पनि कम हुने गर्छ । स्थानीय सरकार र कृषि कार्यालयले समेत फापरलाई परम्परागत बाली संरक्षणसँगै आयआर्जनको विकल्पका रुपमा प्रवर्द्धन गर्दै आईरहेको छ ।

Translate »